मुसिकोट । रसुवाको भोटेकोसी बाढीमा बेपत्ता रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ का हरिबहादुर खड्काको शव फेला नपरेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
भाद्र १० गते भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका खड्काको अवस्था पत्ता लाग्न नसकेपछि बेपत्ता भएको नवौँ दिनमा शुक्रबार पशुपति आर्यघाटमा हिन्दु संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।
रसुवा भन्सार कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत खड्काको परिवार तथा आफन्तले प्रत्यक्ष रूपमा खोजी गर्नुका साथै राज्यका विभिन्न संयन्त्रमार्फत खोजी गरे पनि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन ।
सकुशल भेटिने सम्भावना न्यून भएपछि हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

