ऐजेन्सी
विश्वलाई त्रसित बनाएको कोरोना भाइरसको उद्गमस्थलका रूपमा रहेको चीनको वुहान दुई महिनाभन्दा लामो लकडाउनपछि आधा खुलेको छ ।
त्यहाँका रेल स्टेसनहरू आइतबारबाट सुनसानमुक्त भएका छन् । मानिसहरूलाई वुहान प्रवेश गर्न दिइए पनि वुहानबाट बाहिर जान भने दिइएको छैन ।
यसको अर्थ वुहानलाई अझै आंशिक नियन्त्रणमै राखिएको भन्न सकिन्छ । हुबेई प्रान्तको राजधानी वुहानमा मात्रै कोरोना भाइसबाट ५० हजारभन्दा बढी संक्रमित भएका थिए भने तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।
तर, अहिले वुहान पूर्ण ररूपमा कोरोना भाइरसको नयाँ संक्रमणमुक्त बनेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार आइतबार ५४ नयाँ संक्रमित भेटिएका थिए, तर ती सबै बाहिरी देशबाट चीन भित्रिएका संक्रमित थिए ।
चीनले सबै विदेशी आगमनलाई अस्थायी रूपमा बन्द गरेको छ । त्यस्तै बाह्य उडान पनि हप्तामा एउटा मात्रै गर्ने गरेको छ भने उक्त विमानलाई समेत ७५ प्रतिशतभन्दा बढी यात्रु बोक्न अनुमित दिइएको छैन ।
चीनको वुहानमा कोरोना भाइरस नियन्त्रणमा आए पनि विश्वका अन्य मुलुकहरूमा भने यो भाइरसको संक्रमण तीव्र रूपले फैलिइरहेको छ ।
अहिलेसम्म विश्वभर सात लाख ३१ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् ।