चैत्र २१ रुकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजना निर्माण गरी सचेतना अभियान सुरु गरेका छन् ।
नगरपालिकाले आफनो नगरका १४ वटै वडालाई लक्षित गरेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत विभिन्न सरोकारवाला नियकाहरुलाई कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
प्रत्येक वडामा रहेका स्वास्थ्यचौकी मार्फत घरदैलो, टोलभेला, विद्यालय शिक्षालगायतलाई तीव्रता दिइएको छ । कोरना संक्रमणविरुद्ध स्थानीयलाई सचेत बनाउन सबै वडामा सचेतनामूलक सामग्री सहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
जस अन्तरगत नगरपालिकाले चैत्र ११ गते देखि १९ गतेसम्म डाटाको अनुसार नगरका १४ वटा वडाहरुमा १९ हजार ८ सय ४ साबुन र २३ हजार ७ सय ९४ वटा कपडाको मास्क वितरण गरिएको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले बताउनु भयो । उहाँका अनुसार उक्त सामाग्रीहरु सम्बन्धीत वडा कार्यालयबाट बितरण गरिएको हो ।
यस्तै नगरपालिकाले सञ्चालन गरेका ११ वटा स्वास्थ्य उपचार केन्द्रहरुबाट ६ सय ६९ महिला र ५ सय ४९ पुरुष गरि १२ सय १८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जाँच गरिएका मध्ये सबै व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेका बताएको छ ।
नगरपालिकाले आफनो नगपालिका क्षेत्र भित्रका २ सय ९६ व्यक्तिहरु भारत लगायत तेस्रो मुलुकबाट आएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यस्तै अहिले सम्म रुकुम पश्चिममा कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव परीक्षण गरिएका भारतबाट आएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।