चैत २३ काठमाडौं
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने निर्णय गरेको छ ।
यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।
बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ ।
त्यस्तै बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्ने पनि निर्णय गरेको छ भने संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।