कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्ने जोडीले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो ।
पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका सुब्बा रत्नप्रसाद आचार्यले बताउनु भयो । उहाँले भन्नु भयो, ‘मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ । उमेरको सोधिखोजी हुँदैन भन्ने भ्रम छ । जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन् । यो भ्रम चिर्नको लागि अनिवार्य जन्मदर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।’ अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो । कसैले ललाइफकाइ गरेर विवाह गर्न ल्याउने पनि गरिएको देखिन्छ । कमै उमेरमा विवाह गरेर बालबालिकाको भविष्य नबिग्रियोस् भन्नका लागि मन्दिरमा पनि विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था मिलाइएको हो ।
उमेर पुगेको जोडीले विवाह गर्न आउँदा कुनै समस्या भएन । तर, बालबालिका विवाह गर्दा कानुनी रुपमा अपराध नै हुने भएकोले अपराधजन्य क्रियाकलाप रोकथामका लागि गुठी समिति लागि परेको हो ।