मुसिकोट । जिल्ला समन्वय समिति रुकुम पश्चिममा प्रमुख, उपप्रमुखदेखि सदस्य सबैमा नेकपा माओवादी केन्द्रको मात्रै उम्मेदवारी दर्ता भएको छ । प्रमुख, उपप्रमुख र ७ जना सदस्य पदमा माओवादी केन्द्रले मात्रै उम्मेदवार दिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा लुम्बिनी गौतम केसी र उपप्रमुखमा देवबहादुर कामीको उम्मेदवारी भएको छ ।
स्थानीय तहको निर्वाचनबाट केसी आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी सदस्यहरुमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली रहेका छन् । १२ जना मतदाता रहेको यहाँ माओवादी केन्द्रका मात्रै ९ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ ३१ गते मतदानको मिति तोकिएको छ ।