बैशाख ९ काठमाडौ
काठमाडौको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुई जना नर्सलाई र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको छ । दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
कारागार अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएको थियो । सो क्रममा दुई जनाको पोजेटिभ देखिएको हो ।
आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिनुभएको हो । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उहाँले बताउनु भयो । दुबै नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।
नर्सहरुलाई आरडीटी पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका कैदीवन्दी विरामीको समेत आरडीटी परीक्षण गरिएको तर उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।
कैदीबन्दीहरुको उपचारका लागि भनेर स्थापना गरिएको उक्त केन्द्रीय कारागारको अस्पतालमा ३० बेडको रहेका छन ।