गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको हो ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेको हो । बिहीबार मूल्यांकन समितिका संयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार कार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो बनेको हो ।
प्रतिवेदनअनुसार अर्घाखाँची प्रशासन ९७ प्रतिशतसहित दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो, रूकुम पश्चिम प्रशासन ९६ प्रतिशत सहित चौंथो बनेका छन् । हुम्ला प्रशासन पाँचौं बनेको छ । यस्तै हुम्लासँगै समान ९५ प्रतिशत नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा छ ।
हाल गुल्मीमा पुण्यविक्रम पौडेल प्रमुख जिल्ला अधिकारी छन् भने अर्घाखाँचीमा शशीधर घिमिरे, नवलपरासी पूर्वमा सुमन घिमिरे, रुकुम पश्चिममा परमानन्द घिमिरे र डडेलधुरामा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारी छन् ।