राप्ती राजमार्गको स्तरोन्नति सुस्त

राप्ती राजमार्गको स्तरोन्नति सुस्त

रुकुम, सल्यान र रोल्पालाई सडक सञ्जालमा जोड्ने राप्ती राजमार्ग स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ । यो सडकको स्तरोन्नति गर्न बर्सेनि करोडौँ रुपियाँ विनियोजन भए पनि कामले गति लिन सकेको छैन ।

राप्ती राजमार्गको ८८.४ किलोमिटर सडकखण्ड सल्यान जिल्लामा पर्छ । यसखण्डको स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा मात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड रुपियाँ बजेट विनियोजन गरी १८ वटा ठेक्का लागेका छन् । तर, अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन् । पाँचवटा साइटमा मात्र काम भइरहेको बताइन्छ । सडकका ठूला–ठूला खाल्टाखुल्टीका कारण जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जसले गर्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

दाङ–रुकुम जोड्ने राप्ती राजमार्गले सल्यानको धेरै भूभाग ओगट्छ । अलपत्र अवस्थामा रहेको राप्ती राजमार्गको काम छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानले आयोजना गर्ने सर्वपक्षीय बैठकमा काम छिटो गर्न गरिने निर्णय कार्यान्वयनमा आउन सकेका छैनन् । यस वर्ष जिल्लामा प्रदेश र सङ्घबाट सञ्चालित योजना छिटो छरितो र गुणस्तरीय रूपमा सम्पन्न गर्न छलफल भए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

ठेक्का लागेको लामो समय भइसक्दा पनि ठेकेदारको ढिलासुस्तीका कारण काममा ढिलाइ भएकाले तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले ठेक्का लागेर सुरु भएको राप्ती राजमार्गको काम छिटो अघि बढाउन निर्माण व्यवसायलाई आग्रह गर्नुभएको छ । उहाँले काममा ढिलाइ भएको र गरेको काममा पनि उपलब्धि नदेखिएकाले निर्माण व्यवसायीले ध्यान दिएर छिटो काम सक्नुपर्ने बताउनुभयो । सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म मर्मत तथा स्तरोन्नति गर्न १८ वटा ठेक्का परेकाले ठेक्का सम्झौता निर्धारित समयमै छिटो सक्ने र थप मर्मतका लागि आफूले बजेटको पहल गर्ने बताउनुभयो । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले मुख्य सडकका रूपमा रहेको राप्ती राजमार्गको काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठेकेदारले के समस्या भएर काम गर्न सकेका छैनन् ? त्यसको जानकारी गराउनुपर्छ ।” दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको सडक मर्मतमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जिल्लामा सञ्चालन भएका विकास योजना कार्यान्वय गर्न आफूले चासो दिएर सर्वपक्षीय बैठक आह्वान गरेको बताउनुभयो । सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले ठेकेदारले काममा ढिलाइ गर्दा सडकहरू भनेजस्तो सुधार हुन नसकेको बताउनुभयो । कार्यालयले ताकेता गर्दा र कारबाहीको प्रक्रिया अघि बढाउँदा पनि ठेकेदारले काम नगरेको बताउनुभयो । उहाँका अनुसार अधिकांश ठेकेदारले काम नगर्दा बजेट फ्रिज जाने गरेको बताउनुभयो । निर्माण व्यवसायीले सम्झौता गरेअनुसार काम सक्ने बताएका छन् ।  निर्माण व्यवसायी प्रवीण भण्डारीले आगामी असार मसान्तसम्म काम सम्पन्न गर्न सकिने बताउनुभयो । उहाँका अनुसार अहिले काम भइरहेको छ । तर, सेवाग्राहीले सेवा पाउन अझै केही समय लाग्छ । गोरखापत्र अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार