रुकुम पश्चिममा मनाईयो आदिवासी जनजाती दिवस

रुकुम पश्चिममा मनाईयो आदिवासी जनजाती दिवस

मुसिकोट । बुधबार रुकुम पश्चिममा पनि २९ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ रुकुम पश्चिमको आयोजनामा उक्त दिवस मनाईएको हो । उक्त अवसरमा सदरमुकाम खलंगामा जनजातीको पहिचान झल्कने पोशाक तथा बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।

त्यस पश्चात मुसिकोट नगरपालिका १ मा रहेका बालमन्दिरमा औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाईएको महासंघ जिल्ला अध्यक्ष मनबिर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिरबहादुर भोटेको प्रमुख आतिथ्यता र उपाध्यक्ष गोबिन्द बहादुर बुढा मगरको बिशेष आतिथ्यतामा दिवस बिशेष औपचारिक कार्यक्रम गरिएको हो ।

जिल्ला अध्यक्ष घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्लाका ६ वटै पालिकाहरुबाट महासंघमा आवद्ध जनजातीहरुको उपस्थिति रहेको थियो ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार