स्थानीय तहका कर्मचारीहरुद्वारा अनिश्चितकालिन ‘पेनडाउन’

स्थानीय तहका कर्मचारीहरुद्वारा अनिश्चितकालिन ‘पेनडाउन’

मुसिकोट । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कर्मचारीहरुले कार्यालयले दिने सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरु सहित कर्मचारीहरुले शुक्रबार देखि अनिश्चितकालिन पेन डाउनको कार्यक्रम सुरु गरेका हुन् ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले देशव्यापी रुपमा अनिश्चितकालिन पेनडाउन कार्यक्रम अन्तर्गत मुसीकोटमा पनि सेवा प्रवाह अवरुद्ध भएको बताउनुभयो । उहाँले जायज मागहरु पुरा गरेर अबिलम्ब रुपमा संघीय कानून जारी हुनुपर्ने उल्लेख गर्नुभयो ।

मुसीकोटसहित जिल्लाको चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा पनि सेवा अवरुद्ध भएको छ ।

स्थानीय तहका कर्मचारीहरुले विभिन्न मागहरु राखेर पूर्व निर्धारित कार्यक्रम अनुसार अत्यावश्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हन् । उनीहरुले संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्थाको माग राखेका छन् ।

त्यसैगरी तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने र समान बृत्ति विकास गरिनुपर्ने, समायोजन भएका कर्मचारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने, ७५३ वटै स्थानीय तहमानै चक्रिय प्रणाली अनुसार सरुवा हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोष अनिवार्य व्यवस्था गरिनुपर्ने, निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराईनुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने लगायतका माग आन्दालेतरत कर्मचारीहरुका रहेका छन् ।

माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने स्थानीय तह कर्मचारी संघर्ष समिति मुसीकोटमा सह संयोजक गंगा खड्काले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार