रुकुम पश्चिममा क्षतिको विवरण संकलन जारी : १६ हजार बढी घर पूर्ण रुपमा क्षति

रुकुम पश्चिममा क्षतिको विवरण संकलन जारी : १६ हजार बढी घर पूर्ण रुपमा क्षति

मुसीकोट । भूकम्पको कारण रुकुम पश्चिममा क्षति भएका घरहरुको तथ्यांक संकलनको कार्य जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको समनवयमा क्षति विवरण संकलन भईरहेको हो ।

सोमबार बिहानसम्म संकलन भएको तथ्यांक अनुसार जिल्लाका ६ वटा स्थानीय तहमा १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । यो तथ्यांक अझै बढ्न सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ पन्तले उल्लेख गर्नुभयो ।

नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले उपलब्ध गराएको प्रारम्भिक तथ्यांक अनुसार आठविसकोटमा सबैभन्दा बढी क्षति भएको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले सात हजार १४८ घर पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी सानीभेरी गाउँपालिका प्रमुख बिर्खबहादुर बिष्टले तीन हजार १४६ घर पूर्ण रुपमा क्षति भएको र ७२२ घर आंशिक रुपमा क्षति भएको बताउनुभयो ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले एक हजार ९८७ घर पूर्ण रुपमा र चार हजार ३७४ घर आशिंक रुपमा क्षति भएको जानकारी गराउनुभयो । मुसिकोट नगरपालिका भित्र दुई हजार तीन सय घर पूर्ण रुपमा क्षति भएको र तीन हजार पाँच सय घरमा आशिंक क्षति भएको नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले एक हजार ९३५ घर पूर्ण र एक हजार २५८ घरमा आंशिक क्षति भएको जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण रुपमा क्षति भएको र १०७ वटा घर आंशिक रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले बताउनुभयो ।

थप आवास तथा पूर्वाधार संरचनाको क्षतिको विवरण संकलन भईरहेकोले यो संख्या बढ्न सक्ने बताईएको छ । पूर्ण र आशिंक रुपमा क्षति भएका घरमा बस्न नमिल्ने अवस्थाको सूचना प्राप्त भएको बताउँनुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेखित घर परिवारको लागि आवश्यक रकम तथा बैकल्पिक व्यवस्था गर्न माथिल्लो निकायमा लेखि पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा स्थानीय सरकार प्रमुखहरुले बिद्यालय भवन, स्वास्थ्य संस्थ, सडक, खानेपानी, बिद्युत र सञ्चार क्षेत्रमा समेत क्षति भएको जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार