ठेकेदारले काम नगरेपछि रुकुम पश्चिम-जाजरकोट जोड्ने पुलको ठेक्का तोडियो

ठेकेदारले काम नगरेपछि रुकुम पश्चिम-जाजरकोट जोड्ने पुलको ठेक्का तोडियो

रुकुम पश्चिमको स्यालाखदी र जाजरकोटको रग्दा जोड्ने भेरी नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का तोडिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि काम पूरा नगरी ठेकेदार कम्पनीले लापर्बाही गरेको भन्दै ठेक्का रद्द गरेको जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको रग्दा र रुकुम पश्चिमको आठविसकोट नगरपालिका स्यालाखदी जोड्ने उक्त पुल सम्झौता भएको आठ वर्षसम्म २० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार काठमाडौंको सञ्जीवनी–ग्याल्वा जे.भी.ले उक्त पुल निर्माणका लागि भ्याटसहित १० करोड ३० लाख ४१ हजार ८३२ रुपैयाँ ६४ पैसामा काम गर्ने गरी ३१ असार २०७३ मा ठेक्का सम्झौता गरेको थियो । ३० पुस २०७५ सम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि काम नभएपछि १३ पुस २०७७ सम्म म्याद थप गरिएको थियो ।

तर, म्याद थप भएको मितिमा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेको डिभिजन प्रमुख शर्माको भनाइ छ । म्याद थप गर्दासमेत २० प्रतिशत मात्र भौतिक प्रगति भएको र लिखित तथा मौखिम रूपमा काम सम्पन्न गर्न अनुरोध गर्दा पनि निर्माण कम्पनीले दायित्व पूरा नगरेको उनको ठम्याइ छ ।तोकिएको समयमा काम नगरेको, ठेक्का सम्झौताको पालना नगरेको लगायतका कारण सम्झौताकै सर्त तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण कम्पनीलाई कार्यस्थल छोड्न र सात दिनभित्र कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

आठ वर्षसम्म ठेकेदार कम्पनीले पुलको दायाँतर्फको पिलरका आधा भाग मात्र काम गरेको छ । सडक डिभिजन कार्यालयले एक करोड ३१ लाख ६६ हजार ३७४ रुपैयाँ बराबरको काम भएपछि हर्जना काटेर भ्याटसहित ७५ लाख ८३ हजार रुपैयाँ हालसम्म भुक्तानी गरिएको जनाएको छ । ७२ लाख ९४ हजार ९९७ रुपैयाँ हर्जना काटिएको थियो । समयमै पुल नबन्दा यस क्षेत्रका भेरी नदी तर्न सास्ती पाउँदै आएका छन् । स्यालाखदी र रग्दा जोड्ने भेरी नदीमाथिको पुल निर्माणस्थल ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार