विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ ऋण

विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ ऋण

काठमाडौँ । प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ शैक्षिक ऋण दिँदैछ।

नगरपालिकाले एसईई वा सो तह भन्दा माथिको प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि मात्र उक्त कर्जा दिने छ।

एचए, ओभरसियर, स्टाफ नर्सिङ, इन्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु सूचना प्रविधि लगायत अन्य विभिन्न क्षेत्रसंग सम्बन्धित प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यस कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।

यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०८१ जारी राजपत्रमा प्रकाशित गरेको थियो। सो निर्देशिका बमोजिम शैक्षिक कर्जा वितरण कार्यक्रम हाल सञ्चालनमा ल्याइएको परशुराम नगरपालिकाले जनाएको हो।

ऋण लिन चाहाने इच्छुक विद्यार्थीहरू नगरभित्र स्थायीरूपमा बसोबास भएका हुनुपर्ने छ। शैक्षिक ऋणका लागि इच्छुक विद्यार्थीलाई आवेदन भर्न नगरपालिकाले एक महिनाको समय दिएको छ।

यही कात्तिक २० देखि मंसिर २० गतेसम्म कर्जाका लागि विद्यार्थीले आवेदन दिन पाइने नगरपालिकाले सूचना जारी गरेको हो।

आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणपत्र प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरूको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायतका कागजात, प्रमाण आवश्यक पर्ने जनाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार