प्रदेश राजधानी संरक्षण योजनाको मन्त्री बुढाद्वारा अनुगमन

प्रदेश राजधानी संरक्षण योजनाको मन्त्री बुढाद्वारा अनुगमन

सुर्खेत ।  कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश राजधानी संरक्षण आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ।

बिहीबार आयोजना स्थल पुग्नुभएका मन्त्री बुढाले आयोजनाको पछिल्लो कार्य प्रगति, निर्माणको अवस्था तथा नदी नियन्त्रणसम्बन्धी भइरहेका कामबारे जानकारी लिनुभएको थियो। उहाँले निर्माण कार्यलाई गुणस्तरीय र तोकिएको समयभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, सुर्खेतमार्फत कार्यान्वयन भइरहेको उक्त आयोजनाअन्तर्गत बुलबुले क्षेत्रको नदी नियन्त्रण तथा पानी व्यवस्थापनको काम अघि बढाइएको छ। विगत वर्षहरूमा योजनामा सीमित रहेको नदी नियन्त्रणको काम यस वर्षदेखि कार्यान्वयनमा ल्याइएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका इन्जिनियर उत्तम चौलागाईंका अनुसार २०८२ चैतदेखि ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरिएको हो। करिब १७ करोड १५ लाख ६७ हजार रुपैयाँ लागतमा जलजला जिपी–अभ्नेस एन्फा जेभीसँग सम्झौता गरिएको छ भने २०८४ चैतसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस आयोजनाअन्तर्गत बुलबुले तालदेखि काँक्रेविहार जङ्गलसम्म करिब एक किलोमिटर क्षेत्रमा नदी नियन्त्रण गरिनेछ। साथै, पानीलाई व्यवस्थित रूपमा बहाव गराउने, पर्खाल निर्माण गर्ने तथा पैदलयात्राका लागि पूर्वाधार विकास गर्ने योजना रहेको छ। सो क्षेत्रमा दुई वटा साना पुलसमेत निर्माण गरिने जनाइएको छ।

अव्यवस्थित रूपमा बगिरहेको पानीका कारण स्थानीय बस्ती तथा कृषियोग्य जमिनमा समस्या भइरहेको अवस्थामा उक्त योजना सञ्चालन गरिएको हो। यसले पानी नियन्त्रणसँगै किसानको उत्पादन संरक्षण तथा बस्ती सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, बुलबुले क्षेत्रको सौन्दर्यकरण तथा पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै नयाँ ताल निर्माण, कम्पाउन्ड वाल, नाला व्यवस्थापन तथा पैदलमार्ग निर्माणको कामसमेत अघि बढाइएको छ। एक करोड १२ लाख ३६ हजार रुपैयाँ लागतमा ताल निर्माण कार्य भइरहेको जनाइएको छ।

प्रदेश सरकारको विशेष गुरुयोजना अनुसार सञ्चालनमा रहेको यस आयोजनाले बुलबुले क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार