झगडा मिलाउन गएका वडा अध्यक्षमाथि कुटपिट

झगडा मिलाउन गएका वडा अध्यक्षमाथि कुटपिट

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का वडा अध्यक्ष श्रीकृष्ण शर्मा कुटपिटबाट घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार शुक्रबार बिहान वडा नम्बर १३ को रातामाटा टोलमा उक्त घटना भएको हो।

स्थानीय २५ वर्षीय सुदिप रोकाया र उनकी श्रीमती डम्मरी रोकायाबीच भइरहेको विवाद मिलाउन पुगेका वडा अध्यक्ष शर्मामाथि रोकायाले हातपात गरेका थिए।

कुटपिटबाट घाइते भएका शर्माको कम्मर तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको छ ।

स्थानीयका अनुसार रोकायाले श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा वडा अध्यक्ष शर्माले हस्तक्षेप गर्न खोज्दा आवेगमा आएर धक्का दिएका थिए। धक्का लागेर लड्दा ढुंगामा ठोक्किएपछि उनी घाइते भएका हुन्।

घटनामा संलग्न रोकायालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार