काठमाडौँ । २०८२ को यदुस्मृति पत्रकारिता पुरस्कार नेपाली न्युजलाइनका सम्पादक एवं नेपाल टेलिभिजनका कार्यक्रम निर्माता धनवीर दाहाललाई प्रदान गरिएको छ ।
बुधबार काठमान्डौमा बिशेष कार्यक्रमको आयोजना गरी नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दाहाललाई २४औं यदुस्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री बिष्णु पौडेलले सम्मान पत्र र नगद राशि २५ हजार सहित दाहाललाई सम्मान गर्नुभएको हो ।
पत्रकारिताको माध्यमबाट हत्या, हिंसा, आतंकविरुद्ध कलम चलाई समाजमा शान्ति, सद्भाव र समृद्धिका लागि पु¥याएको योगदानको कदर गर्दै दाहाललाई पुरस्कृत गरिएको यदुस्मृति प्रतिष्ठानले जनाएको छ । दुई दशकदेखि पत्रकारिता गरिरहेका दाहाल २०६२-०६३ को जनआन्दोलनका घाइते समेत हुनुहुन्छ । यदुस्मृति प्रतिष्ठानले हरेक बर्ष पत्रकारिताको माध्यमबाट हत्या, हिंसा, आतंक विरुद्ध कलम चलाई समाजमा शान्ति, सद्भाव र समृद्धिका लागि योगदान गर्ने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
लेखक, साहित्यकार तथा राजनीतिकर्मी यदु गौतमलाई द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीका कार्यकर्ताले हत्या गरेपछि निरन्तर रूपमा शान्ति स्थापनाको पक्षमा कलम चलाउने पत्रकारलाई यदुस्मृति प्रतिष्ठानले पुरस्कृत गर्ने गर्छ ।

