ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

मुसिकाेट । रुकुम पश्चिममा ईभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
जिल्लाकाे सानीभेरी गाउँपालिका–८ एकान्तमाेडस्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहान भएको दुर्घटनामा आमा–छोरीको मृत्यु भएको हो ।
सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज. १४८२ नम्बरको ईभी गाडीले सडक पार गर्ने क्रममा आमा–छोरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराइज बैंक मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी २६ वर्षीया श्रीमती स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन् ।
प्रहरीका अनुसार आमा–छोरी क.प्र.०२००१ ख १०७० नम्बरको फोर्स गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए । छोरीलाई शौचालय लागेपछि सानीभेरी–८ मा गाडी रोकेर उनीहरू शौचालय जानका लागि सडक पार गर्दै गर्दा ईभी गाडीले ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । उपचारका क्रममा आइतबार बिहान ९ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।
ईभी गाडी सानीभेरी गाउँपालिका–३ चौखे निवासी २२ वर्षीय अम्मर वि.क.ले चलाएका थिए । चालक विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ईभी गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार