बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ५७३ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ५७३ जनाको उद्धार

काठमाडौँ । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि तीन वटै सुरक्षा निकायका १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार फेसबुकमार्फत विपद् प्रतिकार्यमा नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ८४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिएका हुन्।

बाढी पहिरो प्रभावित नुवाकोटको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्किएपछि प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएकाहरूसँग प्रत्यक्ष जानकारी लिएको उल्लेख गरेका छन्।

उनका अनुसार प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण छ। सरकारले नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ।

६९ उडानबाट ५७३ जनाको उद्धार
प्रधानमन्त्री शाहका अनुसार बिहीबार ६९ वटा हवाई उडान सञ्चालन गरी ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् भने निजी हेलिकप्टरलाई पनि सरकारी कमान्ड तथा समन्वय प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ।

हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ। नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘र्‍यापिड एक्सन टिम’बाट प्रतिकार्यको निरन्तर समन्वय तथा अनुगमन भइरहेको जनाइएको छ।

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ। करिब तीन हजार ५०० जनाको तत्काल बसोबासका लागि विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवास व्यवस्था गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार