काठमाडौं । तेह्रौँ ‘पी.पी. प्रसाई राष्ट्रिय शिक्षक पुरस्कार–२०८३’ अन्तर्गत कर्णाली प्रदेशका उत्कृष्ट शिक्षकका रूपमा सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयका विज्ञान शिक्षक लोकेन्द्र चन्द सम्मानित हुनुभएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चन्दलाई प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान गर्नुभयो ।
सार्वजनिक विद्यालयमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट शिक्षकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारअन्तर्गत चन्दलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा विज्ञान र प्रविधि शिक्षाको प्रवर्द्धनमा गरेको कामका आधारमा कर्णाली प्रदेशको उत्कृष्ट शिक्षकका रूपमा छनोट गरिएको हो ।
सम्मानपछि उजेली न्यूजसँग कुरा गर्दै चन्दले यो उपलब्धिले आफ्नो शिक्षण यात्रामा थप ऊर्जा, जिम्मेवारी र समर्पणको भावना बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ सिर्जनशील, इमानदार र जिम्मेवार भएर विद्यालय, विद्यार्थी, समुदाय तथा विज्ञान–प्रविधिको क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चन्दले आफ्नो पेशागत यात्रामा सहयोग, मार्गदर्शन र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
‘पी।पी। प्रसाई फाउन्डेसन’ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट शिक्षकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्ष कोशी प्रदेशबाट इलामको चुलाचुली गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक खगेन्द्र निरौला, बागमती प्रदेशबाट काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक युवराज भट्टराई, गण्डकी प्रदेशबाट नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित जनक माध्यमिक विद्यालयका शिक्षक मनोज विक्रम विष्ट र लुम्बिनी प्रदेशबाट बर्दियाको बारबर्दिया नगरपालिकास्थित युवक माध्यमिक विद्यालयका शिक्षक नरेशकुमार चौधरी उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुनुभयो ।
यस्तै, कर्णाली प्रदेशबाट सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयका शिक्षक लोकेन्द्र चन्द र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयकी शिक्षिका अञ्जुकुमारी उपाध्याय उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुनुभयो ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्तरूप दिन २०६७ साल फागुन ६ गते ‘पी।पी। प्रसाई फाउन्डेसन’ स्थापना गरिएको थियो । प्रसाईंको २०५६ साल भदौ १९ गते दहचोकमा भएको हवाई दुर्घटनामा परी निधन भएको थियो ।


