कांग्रेसले ४४ औँ मेलमिलाप दिवस मनाउँदै

कांग्रेसले ४४ औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

तर स्वदेश फर्केका वीपी, गणेशमान लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

मेलमिलापको नीति र कांग्रेस 
मेलमिलापको नीति हरेक क्षणमा नेपाली राजनीतिमा जरुरी छ । ठूला ठूला राजनीतिक परिवर्तनमा कांग्रेस आपसमा मात्र होइन सदावहार प्रतिद्धन्द्धी दलहरुसंग समेत मिलेर गइरहेको छ ।

अन्य दलहरुले पनि ३६४ दिन कांग्रेसलाई सराप्दा एक दिन पुस १६ गतेलाई मेलमिलापका रुपमा सम्झने गर्छन् ।

तर कांग्रेसभित्रै किचलो भइरहँदा यसको सान्दर्भिकतालाई पुष्टि गर्नुपर्ने कांग्रेस आफैमा अल्मलिइरहेको छ ।

पछिल्लो समय संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशनको समय एक वर्ष सारेर मिति सार्वजनिक गरेपछि इतर पक्ष आक्रोशित भएको छ ।

मेलमिलापको नीति कांग्रेसलाई जरुरी भए पनि उसले त्यतातर्फ ध्यान दिन सकेको छैन । विशेष गरी संस्थापनले चासो नदिएको हो ।

मेलमिलापको नीति र देउवाको कार्यक्रम
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ वटै जिल्लामा मेलमिलाप दिवस आफ्नै अनुकूल आयोजना गर्न निर्देशन दिइएकाले सोही अनुसार कार्यक्रम भइरहेको जानकारी दिए ।

उनले सभापति शेरबहादुर देउवाले सुनधरीको धरानमा वीपीको मेलमिलाप नीति कार्यक्रममा सहभागीता जनाउने बताएका छन् । अन्य नेताहरु पनि विभिन्न ठाउँमा गएका छन् ।

त्यस्तै बिहीबारै केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकमा इतर पक्ष (रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह) ले सहभागीता नजनाउने बताइसकेको छ ।

एकलौटी निर्णय गरेर पेल्दै गएपछि देउवाको विरोध स्वरुप उक्त बैठकमा सहभागी नहुने नेताहरुले बताएका छन् ।

देउवाले बुधबार भने मेलमिलाप दिवस तथा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि आफ्नै निवासमा कार्यक्रम राखेका छन् ।

उक्त छलफल कार्यक्रम साँझ ५ बजे पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने मुख्य सचिव पौडेलले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार