आज प्रचण्ड-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

आज प्रचण्ड-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले आज शुक्रबार काठमाडौंका नौ स्थानबाट बृहत शक्ति प्रदर्शन गर्दैछ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।

जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको जानकारी दिँदै उसले समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित गरेको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध–सभा आयोजना गरेको थियो । विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल ¥याली तथा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार