‘हाम्रो इम्युनिटी पावरकै कारण कोरोनाको संक्रमण फैलिन नसकेको हो’

‘हाम्रो इम्युनिटी पावरकै कारण कोरोनाको संक्रमण फैलिन नसकेको हो’

डा. प्रकाशराज रेग्मी

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप हाल विश्वको दुई सय देशमा फैलिएको छ। कोरोना भाइरसको हालसम्म पनि कस्तो खालको भाइरस हो भन्ने कुरा अनुसन्धानकै क्रममा छ। यो भाइरस नियन्त्रणका लागि खोप बनिसकेको अवस्था छैन।

कोरोना भाइरस पनि विभिन्न प्रकारका हुन्छन्। हालको अवस्थामा यसलाई कडा लक्षणहरु देखिने र नदेखिने गरी दुई भागमा विभाजन गर्न सकिन्छ। नेपालमा भने यो भाइरसले मानिसको स्वास्थ्यलाई गम्भिर असर गरेको हालसम्म पाइएको छैन।

नेपाल एउटा विकासोन्मुख देश भएकै कारण यहाँका मानिसहरुले सरसफाइमा त्यत्ति ध्यान दिएको पाइँदैन। पहिलादेखि नै सरसफाइमा ध्यान नदिने भएकाले यहाँका मानिसहरुको शरीरले पहिला नै भाइरसविरुद्धको प्रतिरक्षा शक्ति ( इम्युनिटी पावर) विकसित गरिसकेको छ।

विकसित देशका नागरिकमा यस प्रकारको क्षमता कम छ। उनीहरुले सरसफाइमा विशेष ध्यान दिने भएकाले अहिले विकसित राष्ट्रमा कोरोना भाइरसको प्रभाव बढी देखिएको हो। अहिले हामी गर्मीको मौसमको सुरुवाती चरणमा छौँ। कोरोना भाइरस नेपालमा देखिनु अघि धेरै मानिसमा रुघाखोकी पनि देखिएको थियो। यो पनि एक प्रकारको भाइरस नै हो। रुघाखोकीसँग लड्न शरीरले एक प्रकारको प्रतिरक्षा शक्ति (इम्युनिटी पावर) विकसित गरिसकेको हुन्छ। र, यहाँ पनि त्यस्तै भयो।

रुघाखोकीका कारण विकसित भएको प्रतिरक्षा शक्तिले कोरोना भाइरससँग लड्ने क्षमता पनि बढाएको हुनसक्छ। जसका कारण कोरोना भाइरस नेपालमा भित्रिए पनि फैलन भने पाएको छैन। नेपालमा हाल परीक्षणको दर न्यून भएकाले कोरोना भाइरसको संक्रमण कम देखिएको तर्क वितर्क पनि भइरहेता पनि स्वास्थ्यमा समस्या आएकै कारण अस्पतालमा आउने बिरामीको मात्रा बढेको छैन। तसर्थ परीक्षण नै नभएर बिरामीहरु कम देखिएको तर्क मेरो विचारमा गलत हो।

कोरोना भाइरसको खतराका विषयमा मानिस पिच्छेको फरक तर्क छन्। केहीले विकसित देशले यसको नियन्त्रण गर्न नसकेको हुँदा नेपालमा अझ बढी खतरा रहेको बताउँछन्। केहीले नेपालीको खानपान र रहनसहनका कारण यहाँ कोरोना भाइरसले खासै असर नपार्नेे तर्क गर्छन्।

३० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस बाँच्न नसक्ने अहिले भइरहेका विभिन्न अनुसन्धानले देखाएका छन्। जति गर्मी बढ्दै गयो, त्यत्ति नै यो भाइरस फैलने सम्भावना कम रहन्छ। यो बाहेक हाम्रो क्षेत्रका मानिसमा भाइरससँग लड्ने एक विशेष प्रकारको वंशाणुगत जिन रहेको पनि तर्क पाइन्छ। जसलाई किलर इमिनो ग्लोबलिन भनिन्छ। यो जिनले कोरोना भाइरसलाई सर्न नदिई शरीरमै नष्ट गर्ने क्षमता बोकेको हुन्छ। यी सबै तर्क हुन्। जसलाई कसैले पनि न स्वीकार्न सकेको छ न त नकार्न नै।

नेपालीमा प्रतिरक्षात्मक क्षमता बढी नै रहेको कुरा पक्कै पनि हो। यसमा दुई मत छैन। तर किन प्रतिरक्षात्मक क्षमता बढी भएको भन्ने विषयमा भने हालसम्म पनि तथ्य प्रमाणित भएको अवस्था छैन।यो विषयमा अनुसन्धान गर्दै जाँदा नेपालको भू–बनावटका कारण पनि कोरोना भाइरसको प्रभाव बढी नदेखिएको अनुसन्धानकर्ताहरुको तर्क छ। उनीहरुका अनुसार नेपालमा प्रकृतिले आफैँ प्राकृतिक प्रतिरक्षा (नेचुरल इम्युनिटी) उत्पादन गर्छ। जसले कोरोना भाइरसलाई सतहमै नष्ट गर्न मद्दत गर्नुका साथै यसलाई नियन्त्रण समेत गर्छ।

नेपालमा कोरोनाको प्रभाव कम देखिनुको अर्को कारण यहाँको खानपान पनि हो। नेपालीहरु प्रोटिन, भिटामिन, एन्टी अक्सिडेन्ट युक्त खाद्यान्न बढी मात्रामा सेवन गर्ने गर्छन्। जसले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ। यति मात्र नभई अन्य मुलुकको तुलनामा नेपालमा मानिसको शारीरिक गतिविधिहरु बढी हुनुलाई पनि एक प्रमुख कारण मान्न सकिन्छ।

गाउँघरतिर अझ मानिसमा शारीरिक सक्रियता बढी भएको पाइन्छ। त्यसैले विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा नआएको त पक्कै होइन। यो नेपालमा नफैलिएको मात्रै हो भन्ने मेरो बुझाइ छ। (कुराकानीमा आधारित)
(वरिष्ठ  मुटुरोग विशेषज्ञ प्राध्यापक डा. रेग्मी नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्ष पनि हुन्।)               (काठमाडौ प्रेसबाट)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार