कोरोना संक्रमित भएर ज्यान गएकि महिलाको गहना अस्पतालबाट गायब भएको मृतकका परिवारको आरोप

कोरोना संक्रमित भएर ज्यान गएकि महिलाको गहना अस्पतालबाट गायब भएको मृतकका परिवारको आरोप

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणको कारण ज्यान गुमाएकि एक महिलाको गरगहना र साथमा रहेको नगद रकम अस्पतालले नदिएको परिवारजनले आरोप लगाएका छन् ।

कोरोनाको नयाँ भेरियन्ट सुरु भएपछि गत बैशाख ६ गतेका दिन जिल्ला अस्पताल सल्लेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ की ४० बर्षिया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । ४ गते अस्पताल भर्ना भएकि उनले लगाएका गरगहना र साथमा रहेको नगद हाल सम्म परिवारले नपाएको मृतकका ससुरा सरबिर दमाईले बताउनुभयो ।

‘ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भएपछि हामीले तीन दिन अघि शनिबारका दिन अस्पताल लगेका थियौ’, मृतकका ससुरा सरबिरले भन्नुभयो, ‘कोरोना संक्रमण भएको रिपोर्ट आएपछि आईशोलेशनमा राखियो, हामी बाहिरै बस्यौ । ६ गते सोमबार बिहान मृत्यु भएपछि पनि हामीले नजिक गएर देख्न पाएनौ, सोहि दिन बेलुका नेपाली सेनाको टोलीले स्थानीय मुग्लु खोलामा दाहसंस्कार गरेको हो ।’ त्यसको केहि दिन पछि अस्पतालमा गएर बुहारीले लगाएको गहना र साथमा रहेको नगद रकम बारे कुरा गर्दा अस्पतालले गायब गरेको उहाँले आरोप लगाउनुभयो । ‘मैले अस्पतालका हाकिमलाई कुरा राखे,’ उहाँले भन्नुभयो, ‘हामिक सापले उहाँको के के सामान थियो देउ भन्नुभयो, तर त्यहाँका कामदारहरुले फोहोर फाल्ने ठाउँमा प¥र्यो होला भन्दै तर्किए ।’ त्यहाँका कामदारहरुको त्यस्तो जवाफले आफुलाई झन् शंका लागेको उहाँले उल्लेख गर्नुभयो ।

सरबिरले बुहारीले १ तोलाको सुनको गहना लगाएको बताउँनुभयो । आठ आनाको कानबाली, मंगलसुत्र, लस्करी गरेर १ तोला सुनका गहना, उपचार खर्च भनेर घरबाट बोकेको १० हजार नगद रकम र नागरिकताको प्रमाणपत्र बुहारीकै साथमा रहेको दाबी गर्नुभयो ।
‘आईशोलेशनमा लिएपछि मलाई भित्र जानै दिएनन्, जाने अवस्था पनि भएन’, सरबिरले भन्नुभयो, ‘अस्पताल वा प्रहरीले सामान सुरक्षित राखिदिएका होलान् भन्ने लागेको थियो, तर गायब बनाएछन् ।’ उहाँले हाल सम्म कारोनाको कारण बुहारीको मृत्यु भएको बारे अस्पतालले कुनैपनि कागज नदिएको गुनासो गर्नुभयो ।

यस बिषयमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख बिष्णु बहादुर बुढाथोकीले मृतकका परिवारको गुनासो आएको बताउनुभयो । गुनासो आउने बित्तिकै खोजि गर्दा अस्पतालमा सामान नदेखिएको बताउँदै निमित्त प्रमुख बुढाथोकीले भन्नुभयो, ‘बुझ्दै छौ, प्रहरी मुचुल्का हेर्छौ, संलग्न र उपस्थित कर्मचारीहरुलाई बुझेर खबर गरम्ला ।’

मृतक परियारका ३ भाई नाबालक छोरा रहेका छन् । उहाँका श्रीमान् रतिभान दमाई ३ बर्ष अघि देखि बैदशिक रोजगारीको सिलशिलामा कुबेतमा हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार