स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारी यस पटकको बजेटका प्राथमिकता हुन् : विशाल शर्मा

चौरजहारी नगरपालिकाका प्रमुखसँगको संवाद

स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारी यस पटकको बजेटका प्राथमिकता हुन् : विशाल शर्मा

चौरजहारी नगरपालिकाका प्रमुखसँगको संवाद

स्थानीय तहको निर्वाचन पश्चात रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले उत्कृष्ट, जनमुखी योजना र कार्यक्रम सञ्चालन गर्ने गरेको छ । कोरोना महामारीको बेलामा आफ्नै पहलमा कोरोना परिक्षण प्रयोगशाला सञ्चालन देखि लिएर, राहत वितरण, संक्रमितको निशुल्क उपचार लगायत अहिले अक्सिजन प्लान्ट जडानको काम नगरपालिकाले अन्तिम चरणमा पु¥याएको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारमा नगरपालिकाले गरेका कार्यहरु, आगामी बर्षका बजेट तथा प्राथमिक योजनाका बिषयमा नगरपालिकाका प्रमुख विशाल शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  • चौरजहारी नगरपालिकाले कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारको लागि के कस्तो काम गरिरहको छ ?

– कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि नगरपालिका सुरुदेखि नै क्रियाशिल छ । चौरजहारी नगरपालिका वडा नं. १ स्थित चौरजहारी अस्पताल, वडा नं. २ स्थित सेवा केन्द्र, वडा नं. ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं. १० स्थित शहीद स्मृति नगर अस्पातलमा आइसोलेसन वार्डहरु निर्माण गरी सञ्चालन गरिएका छन् । शंकास्पद व्यक्तिहरु एवम् कन्ट्रयाक ट्रेसिङमा परेकाको आरटि एन्टीजिन र आरटि पिसीआर विधिबाट स्वाब परीक्षण गर्ने गरिएको छ । यसको लागि चौरजहारी नगरपालिका वडा नं. २ मा आरटि पिसीआर परीक्षण प्रयोगशाला नियमित रुपमा सञ्चालनमा रहेको छ । प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु पूर्ण रुपमा क्रियाशील छन् । चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट १,२ दिनभित्र सञ्चालनमा आउँनेछ ।

नगरपालिकामा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर, आकस्मिक औषधीहरु लगायत आवश्यक सामग्रीहरुको हालसम्म अभाव छैन । आइशोलेसनमा रहेका बिरामीहरुको उपचार र खाना, खाजा निशुल्क गरिएको छ । सो कार्यको लागि नगर प्रहरी खटाईएको छ । दुई वटा एम्बुलेन्स सेवा २४ सैं घण्टा सुचारु छन् । कोभिड सङ्क्रमितहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ । नगरपालिकामा सङ्क्रमित संख्या धेरै भएतापनि मानवीय क्षति निकै कम (हालसम्म ८० वर्षमाथिका दीर्घरोगी २ जनाको मृत्यु भएको र केही रिफर बिरामीको मृत्यु भएको) छ । हामीले शबवहान खरिदको काम पनि अन्तिम चरणमा पु¥याएका छौ ।

  • पछिल्लो समय गाउँघरमा निषेधाज्ञा फितलो हुँदा कोरोना संक्रमण थप फैलिएको भन्ने गुनासो छ । यसलाई कडाइ गर्न जरुरी छ कि छैन ?

– निषेधाज्ञा कडाईपूर्वक कार्यान्वयन गर्न नगरपालिका र नगरपालिका अन्तर्गतका संयन्त्रहरु (वडा कार्यालय, नगर प्रहरी, विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी लगायत) क्रियाशील छन् । सुरु सुरुमा सङ्क्रमितहरुको संख्या बढेको भएतापनि हाल सङ्क्रमण दर निकै घटिसकेको छ । हामीले पिसीआर परीक्षण, कन्ट्रयाक ट्रेसिङलाई निकै महत्व दिएका छौं, जसको कारण पनि सङ्क्रमितहरुलाई समयमै उपचार गर्न र अन्य व्यक्तिहरुलाई सङ्क्रमित व्यक्तिहरुबाट दूर गर्न संभव भएको छ ।

  • नगरपालिकाको सानो बजेटले कोरोना नियन्त्रण गर्न सम्भव होला त ? कोरोना रोकथाम नियन्त्रण र उपचारमा संघ र प्रदेश सरकारबाट के कस्ता सहयोग पाउँनुभएको छ ?

– नगरपालिकाको बजेट मात्रैले यो संभव छैन् । सबै तहका सरकारको सहयोग र साझेदारी एवम् समन्वय आवश्यक छ । संघीय सरकारबाट नगरपालिकामा दोस्रो लहर फैलिएदेखि कोरोना भाइरस बिरुद्ध जुध्न कुनै आर्थिक सहयोग प्राप्त भएको छैन । तर कर्णाली प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडान गर्न, पिसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्न, आइसोलेसन व्यवस्थापन गर्न, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न पर्याप्त बजेट प्राप्त भएको छ । यसको लागि कर्णाली प्रदेश सरकारलाई विशेष धन्यवाद दिन चाहन्छौं ।

  • गत बर्ष कोरोना कहरकै बिचमा पनि तपाईहरुले नगरमा दैनिक ज्याला मजदुरी गर्ने मानिसहरुलाई खाद्यन्न वितरण गर्नु भएको थियो । यसपालि भयो कि भएन ?

– गत वर्षझैं दैनिक गुजारा गर्न नसक्ने अति विपन्न घरपरिवारलाई वडा कार्यालयको सिफारिसमा चामल, तेल, चिनि, नुन लगायतको खाद्य सामग्री निशुल्क रुपमा वितरण भईरहेको छ । नगरपालिकाको वडा नं. २ र वडा नं. ११ मा सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । उक्त पसलहरु हरेक महिनाको मङ्गलबार र शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्छन् । विपन्न घरपरिवारहरुलाई उपभोक्ता कार्ड बाँडिएको छ । उक्त कार्डको आधारमा नगरपालिकाले तोकेको सहुलियत दरमा चामल, चिनि, तेल, नुन उपलब्ध गराईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट समेत सयौं नगरवासीहरुले कम्तिमा सय दिन बराबरको काम पाएको अवस्था छ । ती कार्यहरु निषेधाज्ञा अवधिभर पनि निरन्तर रुपमा चलिरहेका छन् ।

  • बजेटको कुरा गरौं, आगामी आर्थिक वर्षका लागि बजेट बनाउने बेला भएको छ, यसपटक तपाईको पालिकामा केके प्राथमिकता परेका छन ?

– नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । यही २०७८ असार ९ गते देखि नगर सभा बस्दै छ । आगामी आर्थिक वर्षमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार, स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारी नगरपालिकाका प्रमुख प्राथमिकताका विषयहरु हुन् ।

  • यो चार वर्षका अवधिमा तपाईहरुले गरेका महत्वपूर्ण उपलव्धिलाई क्रमैसँग बताइदिनुस् न ?

चार वर्षको अवधिमा हामीले थुप्रै कार्यहरु गरेका छौं । जसलाई क्रमैसँग यसरी उल्लेख गर्न सकिन्छ :-
नगर बस सेवा सञ्चालन, २४ सैं घण्टा एम्बुलेन्स सेवा सञ्चालन, करिब ९० प्रतिशत घरपरिवारमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको र केहीमा हुने अवस्थामा रहेको छ । त्यसैगरी टिनका छानामुक्त विद्यालय संरचना निर्माण अभियान सञ्चालन, यसै वर्ष ८ कोठे र ६ कोठे गरी १६ वटा भन्दा बढि भवनहरु निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् । २ सय ७० किलोमिटरभन्दा बढि सडक निर्माण भएका छनु भने १४ वटै वडाहरु सडक सञ्जालमा जोडिएका छन् । मुख्य सडकहरुको स्तरोन्नति सुरु भईसकेको छ ।

१४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, सबै आधारभूत स्वास्थ्य सेवा केन्द्रका पक्की भवन निर्माण सम्पन्न भएका छन् । यसैगरी वडा नं. १० मा पाँच शैयाको शहीद स्मृति नगर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याईएको छ । ५ हजार नगरवासीलाई संलग्न गराई १ हजार भन्दा बढि कृषक सहकार्य समूह गठन तथा दर्ता गरी आर्थिक गतिविधिमा परिचालन गरिएको । सहुलियत दरमा प्रतिसमूह दश लाख ऋण उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भईसकेको । दाना उद्योग, जुस उद्योग, कापी उद्योग, गार्मेन्ट उद्योग, बीउ प्रशोधन केन्द्र लगायतका उद्योगहरुको आवश्यक संरचना निर्माण, उपकरण खरिद गरी सञ्चालनको क्रममा रहेका छन् । वडा नं. ११ मा औद्योगिक ग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी आवश्यक संरचना निर्माणको कार्य थालनी भएको छ ।
कक्षा ५ सम्मका बालबालिकाहरुको लागि निशुल्क पोशाक तथा स्टेशनरी वितरण गरिएको र हरेक वर्ष यसलाई निरन्तरता दिईएको छ भने अधिकांश वडामा केन्द्रीय विद्युत प्रसारण लाइन जडान भएको छ । नगरपालिकासहित ८ वटा वडाका पक्की प्रशासनिक भवन संरचना निर्माण भईरहेका छन् । नगर प्रहरी गठन तथा परिचालन गरिएको छ भने स्थानीय तहको अधिकार कार्यान्वयनको लागि आवश्यक ऐन, नियम, कार्यविधिहरु निर्माण र कार्यान्वयन भएका छन् । यसका साथै सूचना प्रविधिसँग सम्बन्धित कार्यहरु भैरहेका छन् ।

  • अन्तमा केहि भन्न चाहनुहुन्छ ?

– नगरपालिकाको समृद्धि र विकासको लागि नगरपालिका क्रियाशील छ । कोरोना भाइरस महामारीको बाबजुद पनि नगरपालिकामा विकास निर्माणका कार्यहरु तीब्र गतिमा सञ्चालन भईरहेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्ना आर्थिक गतिविधिहरु सञ्चालन गर्न एवम् आफ्नो स्वास्थ्यको पूर्ण रुपमा ख्याल गर्न अनुरोध गर्दछौं ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार