नयाँ भजनियाँहरू

नयाँ भजनियाँहरू

अकसर उनीहरू
ढुङ्गाको देउता मान्दैनन्
मन्दिरमा गएर
पुजा आराधना गर्दैनन्
दान भेटि त
कुरै भएन
किनकि
उनीहरू
ठिमाहा भौतिकी हुन् ।
नयाँ भजनियाँहरू हुन् ।।

अचेल त
माक्र्सवाद
सेमिनार र गोष्ठीमा
भन्ने कुरा हुन्
मालेमाको कुरै नगरौं
प्रचण्डपथ प्रचण्डकै
सखिया छायाहरूले खाए
अलि जाग्दा
आशा लाग्दा
अलि उम्दा
भरोसा लाग्दा
केही थान
आदरणीयहरू छन्
ढिलोचाँडो
आदरणीयहरूकै
सखिया छायाहरूले
खान्छन् खान्छन्
किनकि
उनीहरू
ठिमाहा भौतिकी हुन्
नयाँ भजनियाँहरू हुन् ।।

आलोचना
सहन गर्दै गर्दैनन्
सखिया छायाहरू
अर्थात
असली भजनियाँहरू
गाली ठान्छन्
सुझावहरूलाई
उपदेश ठान्छन्
तिनै छाया
सखियाहरूबाट
गन्तव्य बिथोलिएकोछ
किनकि
उनीहरू
ठिमाहा भौतिकी हुन
नयाँ भजनियाँहरू हुन् ।।

सखिया छायाहरू
खुमलटारलाई
नयाँ मन्दिर
बनाउन थाले
पुल्चोकलाई
भोजनालय
सिंहदरबारलाई
पार्टी कार्यालय
बालुवाटारलाई
गुट रंगमञ्च
किनकि
उनीहरू
ठिमाहा भौतिकी हुन
नयाँ भजनियाँहरू हुन ।।

२०७८ श्रावण २८ , रूकुम पश्चिम ।।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार