यी हुन् तालिबानले कार्यवाहक प्रधानमन्त्री बनाएका मोहम्मद हसन अखुन्द

यी हुन् तालिबानले कार्यवाहक प्रधानमन्त्री बनाएका मोहम्मद हसन अखुन्द

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन सातापछि तालिबानले नयाँ सरकार गठन गरेको छ। उक्त सरकारको नेतृत्व मोहम्मद हसन अखुन्दले गरेका छन्।

उनी मंगलबार अफगानको कार्यवाहक प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन्। तालिबानका संस्थापक मुल्लाह ओमर निकट नेता अखुन्डको जन्मस्थल कान्दाहार सहर हो। यही सहरमा तालिबानको स्थापना भएको मानिन्छ।

उनी संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सूचीमा समावेश छन्। उनीमाथि प्रतिबन्ध लगाउने रिपोर्टमा संयुक्त राष्ट्रसंघले तालिबानका संस्थापक नेता ओमरको ‘निकट सहयोगी र राजनीतिक सल्लाहकार’ भएको उल्लेख गरेको छ।

उनी विगतको तालिबान सरकारमा सन् १९९६ देखि २००१ सम्म उपप्रधानमन्त्रीसहित विदेश मन्त्री थिए। तालिबानभित्र शक्तिशाली निर्णय लिने निकाय ‘रेहबरी सुरा’ को उनी लामो समयदेखि प्रमुख छन्।

समाचार एजेन्सी रोयटर्ससँग तालिबान स्रोतले अखुन्दलाई आन्दोलनभरि निकै सम्मान पाएका व्यक्तिको रुपमा चित्रित गरेको अलजजिराले उल्लेख गरेको छ।

सन् २००१ मा अमेरिकी सेनाले तालिबानको सत्ता ढालेपछि स्थापना भएको तालिबानभित्रकै शक्तिशाली निर्णायक निकाय रेहबरी सुरामा उनले लामो समयदेखि प्रमुखको भूमिका निभाएका छन्। उनकै नेतृत्वमा उक्त निकायले तालिबानलाई फेरि सत्तामा ल्याउनेसम्मको निर्णय लिएको छ। -एजेन्सीहरुको सहयोगमा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार