पत्रकार र सूचना अधिकारी बिच बैठक, सूचना प्रवाह गतिलो नरहेको गुनासो

सूचनाको हक

पत्रकार र सूचना अधिकारी बिच बैठक, सूचना प्रवाह गतिलो नरहेको गुनासो

सूचनाको हक

मुसिकोट । रुकुममा सूचनाको हकको कार्यान्वयनको बिषयमा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच समन्वय बैठक गरिएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाको समन्वयमा र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा उक्त बैठक सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनाको हक सम्बन्धिका ऐन र नियामावलीमा भएका व्यबस्थाहरुको बारेमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैले जानकारी गराउनुभएको थियो ।

छलफलमा सूचनामा सर्वसाधारणको सहज पहुँच नभएको र पत्रकारहरु समेतले सजिलोगरी सूचना पाउन नसकेको बिषयमा पत्रकारहरुले कुरा राखेको पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बताउँनुभयो । उहाँले सूचना अधिकारी र पत्रकारहरु बिचमा नजिकको सम्बन्ध राख्न र सूचना प्रवाहमा थप सहजता ल्याउन उक्त कार्यक्रम समन्वयात्मक रुपमा गरिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ ग्रैह्रैको अध्यक्षतामा भएको उक्त बैठक पश्चात बिभिन्न निर्णयहरु समेत गरिएको छ । सूचनाको हक कार्यान्वयनको अवस्था, समस्या र चुनौतिहरु बारेमा छलफल गर्दै आगामी दिनहरुमा समन्वयलाई प्रभावकारी बनाउने, सबै कार्यालयहरुले सार्वजनिक सरोकारका सूचनाहरु कार्यालयको वेभसाईट, सामाजिक सञ्जाल, सूचना पाटी, बुलेटिन मार्फत नियमित सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिल्ला स्थित सार्वजनिक निकायका सूचना अधिकारीहरु तथा सञ्चारकर्मीहरुलाई सूचनाको हक सम्बन्धि प्रशिक्षणको व्यबस्था गरिदिन राष्ट्रिय सूचना आयोगमा अनुरोध गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार