सोती घटनाका साक्षिको बकपत्र सुरु

सोती घटनाका साक्षिको बकपत्र सुरु

फाईल फोटो

मुसिकोट । ६ जनाको ज्यान जाने गरी २०७७ जेठ १० मा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनाका साक्षिको बकपत्र आज देखि सुरु भएको छ ।

रुकुम जिल्ला अदालतमा आज देखि दुवै पक्षका साक्षिहरुको बकपत्र कार्य सुरु भएको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।
उक्त घटनाका वादी तर्फका ३९ जना र प्रतिवादी तर्फका २३ लाई आज हाजिरी गराईएको छ भने भोलि वकपत्र हुनेछ । श्रेष्तेदार बोहराका अनुसार शुक्रबार सम्म वकपत्र गराईसकिने छ ।

सोती घटनामा संग्लग्न भएको आरोपमा चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई रु. एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ बर्षिया किशोरी र एक किशोरलाई आभिभावकको जिम्मा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो ।

त्यस्तै सर्वाेच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमै छाडेको थियो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार