राहदानी विभागले मंसिर २ गतेदेखि ई-पासपोर्ट जारी गर्दै

राहदानी विभागले मंसिर २ गतेदेखि ई-पासपोर्ट जारी गर्दै

आगामी मंसिर २ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी (इलेक्ट्रिक पासपोर्ट) जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गर्दै आएको छ।

विभागका निर्देशक शरदराज आरनका अनुसार मंसिर १ गते परीक्षणपछि पहिलो चरणमा सीमित संख्यामा इ–पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट जारी हुनेछ। त्यसका लागि विभागले सक्दो काम गरिरहेको उनले बताए।

त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा त्यसका लागि काम भइरहेको पनि उनले जानकारी दिए।  हालसम्म ७० लाखभन्दा बढी एमआरपी वितरण भइसकेको छ। विभागले इ–पासपोर्ट छपाइका लागि पहिलोपटक २०७६ भदौ १० मा ग्लोबल टेन्डर आह्वान गरेको थियो।

यस्ता छन् ई-पासपोर्टका फाइदा 

नेपालमा हाल  सञ्चालनमा रहेको  पासपोर्टमा व्यक्तिगत सूचना छैन। ई-पासपोर्टमा व्यक्तिगत सूचनादेखि  ‘बायोमेट्रिक डाटा’सम्म राखिन्छ। यसकारण ई–पासपोर्टलाई अहिले विश्वकै सबैभन्दा सुरक्षित पासपोर्ट  मानिँदै आएको छ। ई–पासपोर्टमा एउटा चिप राखिन्छ। जसमा पासपोर्टवाहकको औंठा छाप, आँखाको नानीदेखि तस्बिरसमेत हुने गर्छ।

ई-पासपोर्टमा पोलिकार्बनेटको प्रयोग हुन्छ। जसले गर्दा पासपोर्ट भाँचिने, च्यातिने वा पानीमा भिज्दा बिग्रने समस्या आउने छैन। एमआरपीमा भिसा पेजको संख्या ३२ मात्र छ। तर, ई–पासपोर्टमा दुई पेज थपेर ३४ पेज राखिनेछ। ई-पासपोर्टका लागि नागरिकताबाहेक राष्ट्रिय परिचयपत्र समेत बुझाउनुपर्नेछ।

अहिले विश्वका ११५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य मुलुक पनि यसतर्फ उन्मुख छन्। एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचनाको गोप्यता कायम  विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ। १० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी बुक उपलब्ध हुनेछ। त्योभन्दा कम उमेरका बालबालिकालाई पाँच वर्ष अवधिको राहदानी दिइनेछ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार