नेपाली कांग्रेस दाङका सभापति शंकर भन्छन् –समयले नयाँ नेतृत्व खोजिरहेको छ

नेपाली कांग्रेस दाङका सभापति शंकर भन्छन् –समयले नयाँ नेतृत्व खोजिरहेको छ

दाङमा नेपाली कांग्रेसको नेतृत्व फेरिएको छ । दाङमा हालै सम्पन्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदमा शंकर डाँगी निर्वाचित भएका छन् । विद्यार्थी कालदेखि डाँगी राजनीतिमा सक्रिय भए । कांग्रेसप्रति उनको पारिवारिक पृष्ठभूमि जोडिएको छ ।

उनका दाजु कांग्रेसमा सक्रिय सहभागी भएर लागेपछि यस पार्टीप्रति उनको पनि लगाव बढ्यो । २०४९ सालमा उनी नेविसंघमा आवद्ध भए । नेपालगञ्जको बहुमुखी क्याम्पसमा कानुन विषयमा अध्ययन गर्दा उनी नेविसंघमा सक्रिय भए । त्यसपछि उनी दाङ फर्के ।

दाङमा आएपछि उनी २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति भए । त्यसैगरी दाङ नेविसंघको अध्यक्ष पनि भए । महेन्द्र शर्मा नेविसंघको अध्यक्ष हुँदा उनी नेविसंघको केन्द्रीय सदस्य भए । १२ औं महाधिवेशनमा उनी दाङ जिल्ला कार्यसमितिको सदस्य भए ।

१३ औं महाधिवेशनमा उनी दाङ जिल्ला कार्यसमितिको सचिव तथा महासमिति सदस्य भए । १४ औं महाधिवेशनमा जिल्ला कार्यसमितिको सभापतिमा निर्वाचित भए । ‘साथीहरुले विश्वास गरेर मलाई दाङ जिल्ला कार्यसमितिको सभापति पदमा  निर्वाचित गराउनु भएको छ । उहाँहरुको विश्वासलाई टुट्न दिने छैन’ उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रस्तुत छ उनीसँग १४ औं महाधिवेशनको सेरोफेरोमा गरिएको कुराकानी–
 दाङमा जिल्ला नेतृत्व फेरियो, अब केन्द्रमा पनि नेतृत्व फेरिनु पर्छ भन्ने तपाईको भनाइ हो ?
– हो, यो समयको माग हो ।

 कुन आधारमा ?
– हामी वीपी कोइरालाले जन्माएको पार्टीका सदस्य हौं । वीपीले यसको साख बचाउनु भएको छ । अरु नेताहरुले पनि यसको साख बचाउनु भएको छ । कांग्रेसमा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने मेरो भनाइ हो । यो पार्टी बनाउन सबैको योगदान छ । महाधिवेशन कसैलाई स्थापित गराउन र कसैलाई विस्थापित गराउन होइन । अहिलेसम्म नेतृत्वमा आउनु भएका सबै व्यक्तित्वको उच्च मूल्याकंन गर्दै उहाँहरुले जे जति काम गरिरहनु भएको छ त्यो कामलाई अघि बढाउन नयाँ नेतृत्व समयको माग हो ।  त्यो आफसे आफ आएको हो ।

 उपयुक्त नेता को होला तपाईको विचारमा ?
– व्यक्तिको कुरामा नजाऔं । त्यो निर्णय गर्ने काम महाधिवेशन प्रतिनिधिहरुको हो । उहाँहरुबाट आउने मतको आधारमा नेतृत्व चयन हुन्छ । हामीले व्यक्तिगत रुपमा यो भए राम्रो हुन्छ, यो भए नराम्रो भन्नु भन्दा पनि हिजो लोकतन्त्रको लागि लड्नु भएका र अहिलेसम्म नेतृत्व गर्नु भएका नेताहरुको आवाज यसको इतिहास अब तिमीहरुले जोगाउनु पर्छ भन्ने हो । समयले अहिले नयाँ नेतृत्व खोजिरहेको छ । यो आम मान्छेलाई थाहा छ ।

 अब नेतृत्व दोहोरिनु हुँदैन भन्ने तपाईको तर्क हो ?
– यसको टुंगो लगाउने काम महाधिवेशन प्रतिनिधिहरुको हो । नेतृत्व दोहोरिनु पर्छ या पर्दैन भन्ने भन्दा पनि अहिले समयले नयाँ नेतृत्व खोजिरहेको देखिएको छ । अहिले भइरहेका जिल्ला तथा क्षेत्रीय अधिवेशनमा यस्तो देखिएको हो । अहिलेसम्म  नेताहरुले जे जति काम गर्नु भएको छ त्यसलाई बचाइराख्न नयाँ नेतृत्वको आवश्यकता देखिएको हो ।

 यो महाधिवेशनमा कांग्रेसमा गुटबन्दी अलि बढी नै भयो भन्ने तपाईलाई लाग्छ ?
– गुटबन्दी भन्ने शब्द सुन्दा अलि असहज देखिन्छ । तर जहाँ प्रतिष्पर्धा देखिन्छ त्यहाँ पक्ष विपक्ष हुन्छ । लाइक डिसलाइक हुन्छ । कसैले कसलाई मन पराउँछन् । कसैले कसैलाई मन पराउँदैनन् । मन पर्ने साथीहरु एक ठाउँमा हुन्छन् । मन नपराउने साथीहरु अर्को ठाउँमा हुन्छन् । त्यो स्वभाविक हो । तर यस्तो अवस्था लामो समयसम्म हुनुहुँदैन । कसैलाई पुरानो पुस्ताले मन पराउँछ, कसैले नयाँ पुस्तालाई मन पराउँछ । गुटको कारण नेतृत्व छानिएला त्यो आफ्नो कुरा हो । तर गुटको कारण आम निर्वाचनमा कांग्रेसलाई हानि पुर्याउनु हुँदैन भन्ने आम साथीहरुको भावना हो । निर्वाचन हुने बित्तिकै दुई पक्ष हुन्छ नै । तर निर्वाचनपछि दुई पक्ष एक ठाउँमा आउनु पर्छ ।

तर कुनै कुनै ठाउँमा त अलि बढी नै गुटबन्दी देखियो नि, भिडन्त नै भयो त ?
– त्यो गलत कुरा हो । भिडन्त गर्ने, कानुन हातमा लिने काम राम्रो होइन । कसैले आफ्नो विचार राख्न सक्छ । कांग्रेसलाई बलियो बनाउन आफ्नो तर्क राख्न सक्छ । तर भिडन्त गर्ने कुरा कसैलाई मन पर्दैन । जो भिडन्तमा उत्रनु भयो उहाँहरुले पनि भिडन्त गर्नु हुँदैन भन्नुहुन्छ । काग्रेसमा यस्तो हुनुहुन्न । यो कांग्रेसको चरित्र होइन । हामीले संवादको कुरा गर्छौं । सहमतिको कुरा गर्छौं । नेतृत्वको लागि काटमार भिडन्त राम्रो कुरा होइन । आफ्नो कामबाट रिझाउन सक्नु पर्छ ।

 आउने चुनावमा दाङमा कांग्रेसले जित्छ ?
– हाम्रो प्रयास हुन्छ । जुन व्यक्ति नेतृत्वमा आउँछ उसले मात्रै कांग्रेसलाई जिताउने जिम्मा लिनु पर्छ भन्ने हाम्रो सोच छ । त्यो ठीक होइन । यसलाई चिर्नु पर्छ । वडादेखि जिल्लासम्म तीन तहको संगठन बनेको छ । त्यो संगठनलाई हामीले अधिकतम प्रयोग गर्ने हो । यसबाट कांग्रेसको संगठन बलियो हुन्छ । नेतृत्वमा बसेका साथीहरुको भूमिका महत्वपूर्ण हुन्छ, सबै साथीहरुलाई एकीकृत र गोलबद्ध गराउन हाम्रो भूमिका रहन्छ । तर चुनावमा कांग्रेसलाई जिताउन हामी सबैको भूमिका उत्तिकै चाहिन्छ । नेतृत्वमा बसेका साथीहरुको भूमिका र जिम्मेवारी अलि बढी होला तर यसमा सबै साथीहरुको सहयोग आवश्यक रहन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार