संसदमा आजदेखि एमसीसीमाथि छलफल

संसदमा आजदेखि एमसीसीमाथि छलफल

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ ।

प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ ।

गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

लोसपाको हिजो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा छन् ।

एमसीसी सम्झौता संसदबाट पारित गर्न कांग्रेस र लोसपा तयार भएपछि सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई पनि दबाब बढेको छ ।

प्रतिनिधि सभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमा विवाद भए सभामुख अग्निप्रसाद सापकोटाले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना छ ।

सभामुख सापकोटाले यसबारेमा हिजो संसद् सचिवालयका कर्मचारी र पदाधिकारीसँग परामर्श समेत गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार