जसले आफ्नै वडा जोगाउन सकेनन्

जसले आफ्नै वडा जोगाउन सकेनन्

स्थानीय तह निर्वाचन २०७९को मत परिणाम आउने क्रम जारी छ । यो मत परिणामले कांग्रेसलाई विगतमा भन्दा बलियोरुपमा उभ्याउँदै छ भने एमालेको जग हल्लाउने गरी उसको गढ भत्काइदिएको छ ।

अघिल्लो चुनावमा सबैभन्दा बलियो देखिएका काठमाडौंका अधिकांश क्षेत्रमा कमजोर देखाइदिएको छ ।

अनि गठबन्धनका कारण माओवादीको अवस्था विगतमा भन्दा सुधारका संकेत देखिँदैछन् । यद्यपी गठबन्धनमा भोट नगएका कारण उसको धेरै ठाउँमा जित्ने अपेक्षा गरिएका उमेदवार पराजित भएका कारण उसले सन्तुष्टि लिन भने पाएको छैन । तर यो पटकको स्थानीय चुनाव पार्टीभित्रका प्रभावशाली नेताहरुलाई वडामै हराएर चर्चामा छ ।

आफ्नै वडामा अर्को पार्टीले जितेर सबैभन्दा पहिले कांग्रेस सभापति शेरबहादुर देउवाको वडा चर्चामा आएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा उनकै गृहनगर गन्यापधुरामा देउवाको घर रहेको वडा नम्बर–१ मा कांग्रेसलाई नेपाली कांग्रेस बीपीले पराजित गरिदियो । देउवाले कारवाही गरेपछि नेपाली कांग्रेस बीपीको चुनाव चिह्नमा उमेदवार खडा गरेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्लले देउवालाई अन्यत्र नभएर उनकै वडामा हराइदिए । त्यसको चर्चा सबैतिर भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भोट हालेको सूर्यविनायक–२ मा एमाले पराजित भयो ।

कांग्रेसका प्रदिप कार्की निर्वाचित हुँदा एमाले उमेदवार विश्वराज विष्ट दुई सय भन्दा बढी मतान्तरले पराजित भए ।

ओली निर्वाचन लड्ने जिल्ला झापा हो । झापामा ओलीको गृहनगर दमकमै एमालेलाई राप्रपाका राम थापाले पछि पारेका छन् ।
एमालेकी उमेदवार गिता पौडेल अधिकारी थापाभन्दा एकहजार बढी मतले पछाडि छन् ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि आफ्नै गृहनगरको वडामा पराजित भए ।

अर्थमन्त्रीसमेत रहेका शर्मा रुकुम पश्मिका विषयमा आफ्नै पार्टी अध्यक्षकोसमेत हस्तक्षेप स्वीकार गर्दैनन् । उनले रुकुम पश्चिमका साना भन्दा साना निर्णयमा पनि आफ्नो सहभागिता खोज्छन् र त्यसको श्रेय पनि आफैँ लिन्छन् ।

स्थानीय तह निर्वाचनमा भने अर्थमन्त्री शर्मालाई राम्रै धक्का लागेको छ । पहिलो उनले आफ्नै गृहनगरका आफ्नै वडामा पराजय भोगेका छन् । जनार्दन शर्माको गृह वडा मुसिकोट नगरपालिका वडा नम्बर ५ मा कांग्रेसका उमेदवार समीरजंग मल्ल निर्वाचित हुँदा शर्माले उठाएका सुशील गौतम पराजित भएका छन् ।

मल्लले ५०८ मत ल्याएर निर्वाचित हुँदा गौतमका ४२४ मत मात्र आएको छ ।

त्यो वडामा पुरै प्यालन कांग्रेसले जितेको छ । यतिमात्रै होइन रुकुम पश्चिममा देशभर गठबन्धन गरेको कांग्रेसलाई नै शर्माले गठबन्धनमा सामेल गराएनन् । तर, त्यही जिल्लामा कांग्रेसले शर्माको गृहनगर मुसिकोट र अर्को पालिका बाँफिकोट पनि जितेको छ ।

एमालेका युवा नेता योगश भट्टराईको ताप्लेजुङको मौवा खोलामा पनि एमाले हारेको छ । विगतमा पुरै जितेको पालिका अध्यक्ष अलोकप्रिय भए पनि योगशले उनैलाई टिकट दिँदा हार भएको भन्दै एमालेभित्रै उनको आलोचना भइरहेको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको वडा पनि नेकपा एकीकृत समाजवादीले हारेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका–११ मा नेकपा एसले हार्दा नेपाली कांगे्रेस निर्वाचित भएको छ ।

कांग्रेसका भूपालकुमार कार्की ६९६ मतसहित ११ नम्बर वडाको अध्यक्ष निर्वाचित हुँदा नेकपा एसका मिलन विष्ट ३७७ मत ल्याएर पाराजित भए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार