सोती घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन

सोती घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन

जेठ २३ काठमाडौ
रुकुम पश्चिमको चौरजहारी–८ सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिनत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा मानवअधिकार र पत्रकारको टोली शुक्रबार रुकुम पश्चिम र जाजरकोटको स्थलगत अध्ययन अनुगनमा निस्केको हो ।
उक्त टोलीले शनिबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ । उक्त टोलीलाई डिएसपी केसीले चौरजहारी घटनाका आरोपी २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी गराएका छन् । अझै दुईजना फरार रहेको र उनीहरूको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराए ।

घटना संवेदनशील भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायसँग भेट गरी गहन अध्ययन र अनुगमनपश्चात् नागरिकस्तरको प्रतिवेदन प्रस्तुत गरिने मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिए ।

टोलीले हिरासतमा रहेका आरोपीलाई समेत भेटघाट गरेको उनले बताए । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल र विनोद परियार सहभागी छन् ।

शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो । टोली घटनास्थल चौरजहारी–८ सोती र पीडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार