सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने तयारी

सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने तयारी

असार १ काठमाडौ

संघीय समाजवादी पार्टीमा सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ। संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले गिरीलाई हटाउने तयारी भएको हो।

लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहने गरी कार्बाही गर्ने सोचमा समाजवादी पार्टी नेताहरु पुगेको एक नेताले बताए।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव मोरङमा भएकाले बुधबार काठमाडौँ फर्किएपछि मात्र बैठक बस्ने छ । यादवबाहेक काठमाडौँमा उपलब्ध नेताहरुको बैठकले कारबाहीबारे अनौपचारिक छलफल गरेको हो ।

नेपाली कांग्रेसबाट राजनीति थालेकी गिरी कुनै समय सद्भावना पार्टी (आनन्दीदेवी) को अध्यक्ष समेत बनिन्। तर, पार्टी आधिकारिकताको विवादले लगातार क्षति भइरह्यो।

नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष बद्री मण्डल शाही कालको मन्त्रिमण्डलमा गएपछि फुट शुरु भएको थियो । निरन्तरको फुटकै कारण गिरी नेतृत्वमा पुग्न सफल भएकी थिइन्।

संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिंह पत्नी आनन्दीदेवी सिंहलाई अध्यक्ष बनाएर पहिलो पटक भरतविमल यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी लगायतले सद्भावना पार्टी फुटाए । पार्टीको सुरुवातदेखिको चुनाव चिह्न ‘हात’ यही पार्टीले पायो । नेपालमा पहिलोपटक औपचारिक रुपमा संघीयताको माग यही दलले गरेको थियो।

तर, यो दल पनि पटक पटक विभाजित भयो । सद्भावना नामपछि फुर्को जोडेर पार्टी खोलियो। यही क्रममा सरिता गिरी र राजेन्द्र महतोले आफ्नै अध्यक्षतामा दुई वटा सद्भावना बनाएपछि आधिकारिकता विवाद भएको थियो । २०७० सालमा सर्वोच्च अदालतले गिरी नेतृत्वको पार्टीलाई मान्यता दिएपछि चुनाव चिह्न हात उनैको दलले पायो।

उता अनिल झाले राजेन्द्र महत्वबाट छुट्टिएर संघीय सद्भावना पार्टी बनाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा राजेन्द्र महतोको दलले ६ र अनिल झाको दलले एक सिट जित्दा गिरीको दल शून्य सिटमा पुग्यो।

तर, उनले झाको पार्टीसँग एकीकरण गरेपछि हात चुनाव चिह्न उतै पुग्यो । झा अध्यक्ष र गिरी सहअध्यक्ष भए । गिरी अनिल झाको पार्टीबाट पनि बाहिरिइन् । २०७४ सालमा उनी उपेन्द्र यादवको दल संघीय समाजवादी फोरममा प्रवेश गरिन्।

उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकृत भएपछि गिरीको राजनीति उठेको थियो। संघीय समाजवादी पार्टीले गिरीलाई खसआर्य महिला कोटामा समानुपातिक सांसद बनाएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार