सार्वजनिक यातायातमा छैन सुरक्षा सावधानी

सार्वजनिक यातायातमा छैन सुरक्षा सावधानी

फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोरोना भाइरस रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । सरकारले असार २६ गते देखि लकडाउन हटाएपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ ।

शुक्रबार यातायात व्यवस्था विभागको टोलीले अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन । भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ । अनुगमनमा गएका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशवराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए ।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए । उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको बताए ।

यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालकसहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो । कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ । त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यकाभित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार