काेराेना देखिएपछि काठमाडौंको ‘कोटाल टोल’ सिल

काेराेना देखिएपछि काठमाडौंको ‘कोटाल टोल’ सिल

काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ ।

महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखिएको थियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए ।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौंको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा छ । सङ्क्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार