४२ सशस्त्र प्रहरीसहित चितवनमा ५० जनामा कोरोना संक्रमण

४२ सशस्त्र प्रहरीसहित चितवनमा ५० जनामा कोरोना संक्रमण

काठमाडौँ । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।

कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए । संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ ।

यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जना, मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो । योसँगै चितवनमा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार