बारेकोटका ७७४ बाढीपहिरो परिवारलाई खाद्यान्न वितरण

बारेकोटका ७७४ बाढीपहिरो परिवारलाई खाद्यान्न वितरण

सुर्खेत । जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित ७७४ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चरम खाद्य संकट ब्यहोरिरहेका बारेकोटवासीलाई संकट टार्न खाद्यान्न वितरण गरेको हो ।

गत असार २५ गते जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न बस्तीमा गएको बाढीपहिरोका कारण घरबारविहिन भएका र दैनिक हातमुख जोर्न समस्या परेका ७७४ परिवारलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गरेको हो । पाँच तारा युवा संरक्षक मन्चको समन्वय र बारेकोट गाँउपालिकाको सहकार्यमा उक्त राहत सामग्री वितरण थालिएको हो ।

प्रतिपरिवार ३० केजी चामल, नौ केजी दाल, अढाई लिटर खानेतेल र एक केजी नुन वितरण गरेको विश्व खाद्य कार्यक्रमका जाजरकोट प्रतिनिधी कृष्ण थापाले बताए । त्यस्तै गर्भवति, सुत्केरी र ६ देखी २३ महिना भित्रका बालबालिकालाई ६ केजी पोषिलो पिठो समेत प्रदान गरिएको उनले जानकारी दिए । थापाले भने –‘कुपोषणबाट जोगाउन गर्भवति, सुत्केरी र बालबालिकालाई सवै किसिमका भिटामिन, मिनरल्स र पौष्टिक तत्व मिलाएर बनाईएको सर्वोतम पिठो प्रदान गरिएको हो ।’

विश्व खाद्य कार्यक्रमको साझेदार संस्था पाँच तारा युवा संरक्षक मञ्चका निर्देशक छवि पन्तका अनुसार बारेकोटका वडा नम्बर १ मा ६८, वडा नम्बर २ मा ३५ र वडा नम्बर ३ मा सात परिवारलाई खाद्यन्न वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ४ मा तीन सय ३३, वडा नम्बर ५ मा दुई सय ६० परिवार , वडा नम्वर ६ मा ३३ र वडा नम्बर ७ मा ३८ परिवार गरी सात सय ७४ परिवारका चार हजार एक सय जनालाई राहत वितरण गरिएको हो ।

गर्भवति, सुत्केरी र बालबालिका भएका चार सय ८४ परिवारलाई थप पौष्टिक आहार प्रदान गरिएको निर्देशक पन्तले बताए । उनले छिटै दोस्रो चरणको राहत कार्यक्रम संचालन गरिने बताए । बर्षेनी खाद्य संकट पर्ने बारेकोटमा यस बर्ष बाढीपहिरोका कारण धेरै परिवार भोकभोकै परेपछि विश्व खाद्यले सहयोग गरेको हो । बाढी पहिरोमा परि बारेकोटमा ११ जनाको ज्यान गएको, तीन बेपत्ता भएको र एक हजार बढी परिवार विस्थापित भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार