चुनावी तालमेलले बदर मत बढ्ने खतरा

चुनावी तालमेलले बदर मत बढ्ने खतरा

स्थानीय तहको निर्वाचनका लागि देशभरका स्थानीय तहमा मनोनयन सकिएको छ ।  निर्वाचन आयोगले मनोनयनको अद्यावधिक जारी रहेको जनाएको छ । विशेषगरेर निर्वाचनमा सत्तारुढ र विपक्षी दलका दुई गठबन्धन रहेका छन् ।

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजमो)ले ६ वटा महानगर र ११  उपमहानगरमा चुनावी तालमेल केन्द्रबाटै गरे । त्यतिमात्रै होइन आवश्यकताअनुसार गठबन्धनभित्रैका पार्टीहरुसँग तालमेल गर्न तल्लो तहसम्म निर्देशन दिए ।

तर कतिपय स्थानीय तहमा गठबन्धनभित्रकै दलहरुबीच पनि प्रतिस्पर्धा हुँदैछ ।  उता एमाले नेतृत्वमा राप्रपा, राप्रपा नेपाल, लोसपालगायतका राजनीतिक दलको छुट्टै गठबन्धन छ । कतिपय स्थानमा कांग्रेस र एमालेबीच पनि तालमेल भएका छन् ।
दलहरु गठबन्धनबाट निर्वाचनमा गए पनि निर्वाचनका लागि राष्ट्रिय मान्यताप्राप्त ६ दल, अन्य ७३ दल र स्वतन्त्रको चिह्न राखेर मतपत्र छपाइ भइसकेको छ । उमेदवारी दिएपछि मतपत्र छाप्न, ढुवानी गर्न नभ्याइने भएकाले निर्वाचनका लागि दल दर्ता भएपछि मतपत्र छाप्ने गरिएको छ ।

आजबाट मतपत्र ढुवानीको काम हुँदैछ । महानगरपालिकाको मतपत्र भने उमेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छपाइ हुने आयोगले जनाएको छ ।

मतपत्रमा उमेदवार नै नभएका पार्टीका चुनाव चिह्न रहने भएकाले मतदातालाई भने असहज हुने देखिएको छ ।

दलहरुबीच चुनावी तालमेलले एक अर्कालाई सहज भए पनि मतदान गर्न अप्ठ्यारो हुने गुनासो गर्न थालेका छन् । गठबन्धनले बदर मत बढ्ने आकलन केही विज्ञको छ ।

२०७४ को निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । जहाँ मेयरमा कांग्रेसको उमेदवार नहुँदा पनि करिब १० हजार मत परेको थियो ।

त्यस्तै काठमाडौं महानगरपालिकामा एमाले र राप्रपा नेपालबीच गठबन्धन भएको थियो । जहाँ, एमालेको उमपेयर पदमा उमेदवार नहुँदा पनि एमालेको चिह्नमा मत खसेको थियो ।

फरक–फरक दलमा भोट हाल्दा मतदाता झुक्किन सक्ने र उमेदवार नै नभएको चिह्नमा भोट पर्ने सम्भावना छ । त्यो मत स्वतः बदर हुन्छ । अघिल्लो स्थानीय निर्वाचनमा समग्रमा ३.१८ प्रतिशत मत बदर भएको थियो । अहिले मत बदरको संख्या बढ्न सक्ने आयोगका पदाधिकारी पनि स्वीकार गर्छन् ।

“यसपटक मतदाता कार्यक्रम पनि सञ्चालनको तयारी छैन । गठबन्धनबाट उमेदवार बनाउने भन्ने सुनिन्छ । फरक–फरक दलका उमेदवारलाई मत दिनुपर्ने हुँदा मतदातालाई झन्झटिलो हुन सक्छ । बदर मत बढ्न सक्छ,” ती पदाधिकारीले भने ।

माओवादी केन्द्रका नेता गणेश साह गठबन्धनबाट जाँदा मत बदर बढ्न सक्ने सम्भावना रहेको स्वीकार गर्छन् । गठबन्धन दलका नेताहरुले आम मतदातासँग पुगेर बुझाउनुसक्नुपर्ने उनको भनाइ छ ।

“फरक फरक चिह्नमा मत हाल्नुपर्दा बदरको सम्भावना देखिन्छ । दलहरुले मतदातासँग पुगेर मेहनत गर्नुपर्छ । दलहरुले प्रशिक्षण दिनुपर्छ,” उनी भन्छन्,“गठबन्धनबाट जाँदा केही अप्ठ्यारा र चुनौती आउँछन् ।”

निर्वाचनका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले गठबन्धन भन्ने नचिन्ने र दलको उमेदवारलाई आएको मत गणना हुने बताउँछन् ।

“आयोगले गठबन्धन चिन्दैन । आयोगले राष्ट्रिय मान्यताप्राप्त ६ दल, दर्ता भएका अन्य ६३ गरी ७९ दल आयोगले चिन्छ । ७९ दलले निर्वाचनमा भाग लिन खोजेपछि ७९ दल नै उमेदवार हुन्छन् भन्ने बुझ्छ,” उनले भने, “जिल्लाबाट विवरण लिएर ती दलको उमेदवार तत् जिल्लामा दिने गरी निर्णय गरिएको छ । त्यसो भएकाले मेलमिलापबारे आयोगले चिन्दैन ।”

गठबन्धन दलमा साझा चिह्नबाट उमेदवार बनाउने विषयमा पनि छलफल भइरहेको छ । तर, अब साझा चुनाव चिह्न सम्भव नहुने उनले बताए ।

“आयोगले साझा उमेदवार र चिह्न जान्दैन । आयोगले कुनै दलको उमेदवार हुन्छ । अर्को स्वतन्त्र उमेदवार हुन्छ भन्ने  आयोगले जानेको छ,” उनले भने ।

मतपत्रमा कुन दलको चुनाव चिह्न कति नम्बरमा ?

हाल प्रकाशन भइरहेको मतपत्रमा एमालेको चुनाव चिह्न एक नम्बरमा छ । अघिल्लो निर्वाचनमा समानुपातिक रुपमा धेरै मत ल्याएका आधारमा सूर्य पहिलो नम्बरमा राखिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसको चुनाव चिह्न दोस्रो, तेस्रोमा नेकपा माओवादी, चौथोमा जनता समाजवादी पार्टी (जसपा) पाँचौँमा लोकतान्त्रिक समाजवादी (लोसपा) र छैटौमा नेकपा एकीकृत समाजवादीको चिह्न रहेको छ ।

लोसपा र एकीकृत समाजवादीको चिह्न भने दल दर्ताको निवेदन दिएको मितिका आधारमा छुट्याइएको उनले बताए । त्यसपछि अन्य, दल स्वतन्त्रको चिह्न राखिएको छ ।

१६ देखि ५६ लहरका मतपत्र 

स्थानीय तहको निर्वाचनमा जिल्लाअनुसार मतपत्र फरक छ । यस निर्वाचनका लागि २३ लहरका ७७ प्रकारका मतपत्र छपाइ भइरहेको छ । जसमा काठमाडौंको मतपत्रमा सबैभन्दा धेरै ५६ लहर र डोल्पाको मतपत्रमा सबैभन्दा कम १६ लहरका मतपत्र रहेको आयोगले जनाएको छ ।

काठमाडौंमा ४० मनाङ र मुस्ताङमा ५–५ दल 

मतपत्र सबैभन्दा ठूलो काठमाडौंमा ४० वटा दल सहभागी हुनेछन् । काठमाडौंपछि मोरङको मतपत्र ठूलो हुनेछ । मोरङमा ३३ दलका उमेदवार प्रतिस्पर्धामा हुनेछन् । सुनसरीमा र रुपन्देहीमा ३२, ललितपुरमा ३१, झापामा र ३०, भक्तपुरमा २८ दलका उमेदवार हुनेछन् । सबैभन्दा थोरै मतपत्र मनाङ र मुस्ताङको हुनेछ । यहाँ पाँचवटा दल सहभागी हुनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार