नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ। सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो।
सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ।
महामन्त्री गगन थापाका अनुसार कांग्रेसले भदौ २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन्।
कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ। जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौँ बोलाइने भएको छ।
पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो। नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए।


 
					
							
 
                             
                             
                             
                             
                            