वैशाख १६ काठमाडौं
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । यसअघि रेडियो नेपालले सोमबार नै विज्ञप्ति जारी गरेर सो अन्तर्वार्ताको बिषयमा माफी मागेको थियो ।
जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । यो मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो ।