कर्णालीमा वित्तीय र प्रशासनिक संघीयता अझै आईसकेको छैन : मुख्यमन्त्री शर्मा

कर्णालीमा वित्तीय र प्रशासनिक संघीयता अझै आईसकेको छैन : मुख्यमन्त्री शर्मा

मुसिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा राजनीतिक संघीयता आएपनि वित्तीय र प्रशासनिक संघीयता अझै आइनसकेको बताउनुभएको छ ।

आज नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मानव सुचकांकमा पछाडि परेको कर्णालीलाई माथि उठाउन संघीयता व्यवहारमै लागु हुनुपर्ने बताउनुभएको छ ।

साधान स्रोतका आधारमा कर्णाली निकै सम्पन्न भएपनि त्यसको परिचालन सही रुपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको उहाँको बुझाई छ । जल, जमिन, सिप, खानी, पर्यटन, धार्मिक सम्पदाहरुको उच्चतम प्रयोग गर्न सकिने तर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्ने उहाँको भनाई छ । कर्णाली सरकारले गरीबी र कुसस्कार अन्त्यको लागि योजना बनाईरहेकोले योजना बनाउन र कार्यान्वयनमा सघाउन उहाँले आग्रह गर्नुभयो ।

आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको मुख्यमन्त्री शर्माले बताउनुभयो । रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उहाँले स्पस्ट पार्नुभएको छ ।

“हामीले गरिबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुुभयो, “शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ ।” विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताउनुभयो । बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मङ्गल बहादुर शाही, प्रदेश सभा सदस्य मिलन खड्का, जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटा र जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको सञ्चालन महासंघका सचिब हिरा परियारले गर्नुभएको थियो ।

त्यसैगरी आजै मुख्यमन्त्री शर्माले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरु सँग छलफल तथा अन्तरक्रिया गर्नुभएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बताउनुभयो । कर्मचारीहरुसँगको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कार्यालयमा आएका सेवाग्राहिको कामलाई छिटोछरितो रुपमा गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले कर्मचारीहरुलाई कसैको डर, धाक, दबाब र प्रभावमा नपरी राज्यले दिएको जिम्मेवारी इमानदारी, निष्ठा र कुशलतापूर्वक निभाउन निर्देशन दिनुभयो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार