सुर्खेत । कर्णालीमा बालिका तथा समावेशी शिक्षा सञ्जालको क्षमता विकासका लागि कार्यशाला सम्पन्न भएको छ । बिहिबार वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तहमा रहेका बालिका तथा समावेशी शिक्षा सञ्जाललाई सदृढ र कार्यान्वयमुखी बनाउन क्षमता विकास कार्यशाला सम्पन्न गरिएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको कार्यशाला एक्सेस परियोजनाको अगुवाईमा सम्पन्न भएको हो । एक्सेस परियोजना युरोपियन युनियनको सहयोग, पिपुल इन निडको नेतृत्वमा एकान्टेबिलिटी ल्याब, नेपाल अपाङग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा सञ्चालित परियोजना हो । पिपुल इन निडका कर्णाली प्रदेश संयोजक मञ्जु लोहनीले सञ्जालका सदस्यहरुको क्षमता अभिबृद्धि गरेर उहाँहरुको भूमिका तथा जिम्मेवारी स्पष्ट पार्न र प्रणालीगत समन्वयलाई प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार लैङ्गिक समानता, अपाङगता तथा सामाजिक समावेशीकरण उत्तरदायी र समावेशी शिक्षाको प्रभावकारी प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारको पहिलो अधिकार स्थानीय तहमै रहेकोले स्थानीय तहबाटै पहल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समावेशी शिक्षाका निम्ति संवैधानिक अधिकारसहितको जिम्मेवारी र काम कर्तव्य बमोजिम नै सरकारी निकायले प्राथमिकताकता दिने उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री भण्डारीले विकास पूर्वाधार गाँउ पुग्ने र विद्यार्थी शहर पुग्ने प्रवृत्तिलाई कम गर्न कार्यशाला केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । बालिका तथा समावेशी शिक्षा सञ्जाल मार्फत शिक्षा सुधारका योजनालाई प्रभावकारी रुपमा कार्यान्वय गर्न सकिने उहाँको भनाइ छ । मन्त्री भण्डारीले सबैको सहकार्यमा शिक्षाको उज्यालो फैलाउन सकिने भएकोले सञ्जालको सक्रियताको लागि प्रदेश सरकार सधै लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले कार्यशालामा उठेका बिषयहरु मन्त्रालयले सम्बोधन गर्ने बताउनुभयो । उहाँले एउटा बालिका शिक्षित भयो भने परिवार अनि सिङगो समाज नै शिक्षित हुने उल्लेख गर्नुभयो । शिक्षित बालिका भएको समाजमा अन्धबिश्वास हट्ने र शिक्षा तथा स्वास्थ्यमा पहुँच विस्तार हुने बताउनुभयो ।
कार्यशालामा एक्सेस परियोजनाले गरिरहेको कामको जानकारी गराईएको थियो । त्यसैगरी बालिका तथा समावेशी शिक्षा सञ्जालको नक्साङकनको अभ्यास गरिनुका साथै सञ्जालको रणनीति, मापदण्ड, समावेशी शिक्षा, संघीय योजना तथा प्राथमिकता बारेमा सहजीकरण गरिएको थियो ।
त्यसैगरी संघीय सरकारको बालिका तथा समावेशी शिक्षा सञ्जालको रणनीतिक कार्यान्वयन योजनाको मस्यौदामा छलफल गरिएको छ भने कर्णाली प्रदेश सरकारको समावेशी शिक्षाको प्राथमिकता बारेमा पनि छलफल गरिएको छ । गुनासो सुनुवाई संयन्त्रको प्रावधान र प्रतिवेदन प्रक्रिया, सञ्जालको कार्यक्षमता तथा दिगोपना, कार्ययोजना तथा आगामी कदमहरुबारेमा समेत कार्यशालालामा छलफल गरिएको छ ।
कार्यशालाले कर्णाली प्रदेशका स्थानीय तहहरुमा बालिका तथा समावेशी शिक्षा सञ्जालको प्रभावकारी प्रवद्र्धन, लैङिगक उत्तरदायी र समावेशी शिक्षा योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नका लागि मदत पुर्याउने बताईएको छ ।
कार्यशालाको सहजीकरण कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख सुवर्ण कुमार खड्का, शिक्षा अधिकृत (आठौं) बलवीर सुनार, पिपुल इन निडका बालिका तथा समावेशी सञ्जालका प्राविधिक लिड बिना बलाल र प्रदेश संयोजक मञ्जु लोहनीले गर्नुभएको थियो ।

