मुसिकोट । शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम को आयोजनामा मुसिकोट नगरपालिका सभाहलमा सम्पन्न भएको हो।
प्रमुख जिल्ला अधिकारी निशान राज गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख विमल कुमार पुनको विशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रणका लागि अपनाइएका उपायहरू, नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवाको प्रभावकारिता तथा सेवा प्रवाहमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्री निशान राज गौतमले शान्ति सुरक्षा कायम गर्न प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले सार्वजनिक सेवा प्रवाहलाई थप छिटो, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी नगर प्रमुख महेन्द्र केसीले स्थानीय सरकार र जिल्ला प्रशासनबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै नागरिकका समस्या समाधानमा संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमले प्रशासन र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नागरिक समाजका प्रतिनिधिहरू, शिक्षक, पत्रकार, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


