काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेमप्रकाश ओलीले अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले सभापति ओलीमाथि लागेको आरोपबारे मागिएको स्पष्टीकरण तथा सम्बन्धित मिसिलमा संलग्न कागजात अध्ययन गरेपछि उहाँलाई आरोपबाट सफाइ दिने निर्णय गरेको हो ।
अनुशासन समितिको भदौ १८ गते बसेको बैठकले ओलीले पेस गरेको स्पष्टीकरणका आधारमा यस्तो निर्णय गरेको हो । अनुशासन समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको पत्रमा ओलीमाथि लागेको आरोपबाट सफाइ पाउने ठहर भएको उल्लेख छ । समितिले उक्त निर्णयबारे नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिलाई समेत जानकारी गराएको छ ।
समितिले यसअघि ओलीसँग उजुरीको आधारमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपबारे स्पष्टीकरण मागेको थियो । जवाफमा ओलीले आफूमाथि लगाइएको आरोप निराधार र असत्य भएको दाबी गर्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको बताउनुभएको थियो । पार्टीको नीति तथा निर्देशनअनुसार आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उहाँको भनाइ थियो ।
ओलीले सफाइ पाएपछि नेपाली कांग्रेस रुकुम पश्चिममा खुसी छाएको पार्टी प्रवक्ता लालबहादुर ओलीले बताउनुभयो । उहाँले पार्टी संगठन विस्तारका लागि गाउँगाउँ पुगेर जनताका समस्या सुन्दै आउनुभएका सभापति ओलीमाथि लगाइएको आरोप गलत भएको दाबी गर्नुभयो । आधिकारिक उम्मेदवारलाई जिताउन सभापति ओली सक्रिय रूपमा लागेको उहाँको भनाइ छ ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले रुकुम पश्चिमबाट राजु केसीलाई उम्मेदवार बनाएको थियो । निर्वाचनमा केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो ।
समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३६, नेपाली कांग्रेसले १५ हजार १८१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १४९ मत प्राप्त गरेका थिए ।
कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजीजंग शाहको नाम सिफारिस गरेको थियो । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारी तथा राष्ट्रियसभाका लागि वीरबहादुर ओलीको नाम सिफारिस गरिएको थियो । तर, केन्द्रले राजु केसीलाई आधिकारिक उम्मेदवार बनाएको थियो ।\
को हुन प्रेम प्रकाश ओली ?
सहिद हरिभक्त ओलीका एक मात्र छोरा प्रेमप्रकाश ओली लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ २०४७ सालमा नेपाल विद्यार्थी संघ चौरजहारी, रुकुमको अध्यक्ष बन्नुभएको थियो । २०४८ सालमा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज इकाइ समितिको सहसचिव हुँदै सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०५५ सालमा नेपाली कांग्रेस रुकुमको जिल्ला कार्यसमितिको सदस्यमा मनोनित हुनुभएका ओली २०५७ सालको दशौँ महाधिवेशनदेखि १३औँ महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य रहनुभएको थियो । २०५८ सालमा नेपाली कांग्रेस केन्द्रीय विभागअन्तर्गत द्वन्द्व व्यवस्थापन तथा शान्ति प्रक्रिया विभागको सदस्यका रूपमा समेत काम गर्नुभएको थियो ।
उहाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला तदर्थ समितिको उपसभापति तथा २०५९ देखि २०६७ सालसम्म जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रुकुम क्षेत्र नं. २ को उम्मेदवारसमेत बन्नुभएको थियो ।
२०६५ सालमा पुनः नेपाली कांग्रेसको केन्द्रीय विभागको सदस्य तथा २०६८ सालमा नेपाली कांग्रेस राप्ती अञ्चल समन्वय समितिको सदस्यका रूपमा काम गर्नुभएको थियो ।
ओलीले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउनुभएको छ । अन्तर्राष्ट्रिय संस्था टिम नेपालद्वारा सञ्चालित चौरजहारी मिसन अस्पतालको अध्यक्षका रूपमा चार वर्ष जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
२०७२ साल फागुनमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट अत्यधिक मतका साथ नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिमा निर्वाचित हुनुभएका ओली सातौँ जिल्ला अधिवेशनबाट पुनः सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।
उहाँका पिता तथा तत्कालीन जिल्ला विकास समितिका सभापति सहिद हरिभक्त ओलीको २०५५ साल माघ १ गते तत्कालीन माओवादीद्वारा हत्या भएको थियो । त्यतिबेला प्रेमप्रकाश ओली २४ वर्षको हुनुहुन्थ्यो ।


