सुर्खेत । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी, रग्बी र आर्चरी खेल सञ्चालनका लागि सुर्खेतको वीरेन्द्रनगरमा सम्भावित खेलस्थलहरूको पहिचान तथा स्थलगत निरीक्षण गरिएको छ ।
प्रतियोगिताका खेल सञ्चालनका लागि वीरेन्द्रनगरस्थित खुलामञ्च, नेपाली सेनाको राजदल गण तथा इन्जिनियरिङ गणमा रहेका दुईवटा खेलमैदानलगायत सम्भावित स्थानहरूको अवलोकन गरिएको हो ।
खेलस्थलको व्यवस्थापन, आवश्यक पूर्वाधारको अवस्था पहिचान तथा प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले खेलस्थल व्यवस्थापन समितिले स्थलगत निरीक्षण गरेको जनाएको छ ।
समितिका संयोजक एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, सचिव विनोद उप्रेती र सदस्य पंखबहादुर मल्लसहितको टोलीले सम्भावित खेलस्थलहरूको निरीक्षण गर्दै आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय पक्षबारे जानकारी लिएको छ ।

