तीन नेता बीच भेटवार्ता : भोलि सत्ता गठबन्धनको बैठक बस्ने

तीन नेता बीच भेटवार्ता : भोलि सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । शीर्ष नेताको आजको भेटमा भोलि दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

यसअघि आज बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको थियो । गठबन्धनको बैठक स्थगित भएपछि शीर्ष नेताबीच छलफल भएको हो । पालिका र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।

सत्ता गठबन्धनमा पालिकाको चुनाव पहिला गर्ने कि सङ्घीय संसद्को भन्ने विषयमा निचोड निस्कन सकेको छैन । प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले पालिकाको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा पालिकाको चुनाव गर्नु प्रस्ताव राख्नुभएको छ ।

गएको मंगलवार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार