रुकुम पश्चिममा कांग्रेस अधिवेशनको तयारी पूरा, वडा अधिवेशन भोलिबाट

रुकुम पश्चिममा कांग्रेस अधिवेशनको तयारी पूरा, वडा अधिवेशन भोलिबाट

मुसिकाेट । नेपाली कांग्रेस रुकुम पश्चिमले १५औँ महाधिवेशन तथा ८औँ जिल्ला अधिवेशनको तयारी तीव्र बनाएको छ । पार्टी केन्द्रले तय गरेको कार्यतालिकाअनुसार भोलि असोज ३ र ४ गते वडा अधिवेशन हुँदैछ ।
त्यसपछि असोज ७ गते पालिका तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने जनाईएकाे छ ।

अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बीपी स्मृति भवन, मुसिकोट खलंगामा तीन दिनसम्म बसेको बैठकले अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न निर्णय गरेको छ । बैठकमा अधिवेशनको तयारी, व्यवस्थापन तथा आवश्यक जिम्मेवारीबारे छलफल गरिएको पार्टीका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।
जिल्ला सभापति प्रेमप्रकाश ओलीले अधिवेशनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो ।
सभापति ओलीका अनुसार भोलिबाट सुरु हुने वडा अधिवेशनका लागि जिल्लाका ७३ वटै वडामा मतदान अधिकृत नियुक्त गरी खटाइएको छ । मतदान अधिकृतहरूलाई आजै मतदान नामावली, विधान, निर्देशिका, प्रमाणपत्रलगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
यस्तै, कांग्रेसको अधिवेशनको माहोल सुरु भएसँगै जिल्ला बाहिर रहेका नेता तथा कार्यकर्ता रुकुम पश्चिम आउने क्रम पनि बढेको छ । यसपटक जिल्लाका केही वडामा सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।
कांग्रेस रुकुम पश्चिमका अनुसार जिल्लामा ६ हजार ४९७ जना क्रियाशील सदस्य रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार