आज दिनभर पशुपतिनाथ मन्दिर बन्द

आज दिनभर पशुपतिनाथ मन्दिर बन्द

काठमाण्डौ । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार  सोमबार (भोलि)  बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताउनुभयो । कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

यसैबीच शनिबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । सामान्य दिनमा २० देखि ३० हजारको संख्यामा दर्शनार्थी पुग्ने गरेकोमा शनिबार ५० हजारभन्दा बढीले दर्शन गरेका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार